असोज पहिलो साताभित्र देशभरका फिल्म हल खुल्ने, तीन फिल्म रिलिज तयारीमा

भदौ २९, २०७८


फिल्म क्षेत्र चलायमान बनाउन तीन प्रतीक्षित नेपाली फिल्मलाई रिलिजको तयारी थालिएको छ । चलचित्र संघ र चलचित्र निर्माता संघले भोलि बोलाएको बैठकमा चपली हाइट ३, म यस्तो गीत गाउँछु २ र हिजो आजका कुरालाई रिलिज गर्नेबारे टुंगो लगाइने भएको छ । निर्माताले मागे बमोजिम लगानीको न्यूनतम सुनिश्चितता एमजी र हल तथा निर्माताले प्राप्त गर्ने हिस्साबारे बाँडफाँट भए भोलि नै यी दुई फिल्म दशैं तथा तिहारमा रिलिज हुनेछन् ।

प्रदर्शकको छाता संस्था चलचित्र संघका महासचिव अशोक शर्माले नेपाल प्रेसलाई भने, सेयर र एमजीको कुरा टुंगियो भने भोलि नै यी तीन फिल्म रिलिजको टुंगो लाग्छ । फिल्म क्षेत्रलाई चलायमान बनाउन पनि रिलिजको जरुरी हुन्छ । शर्माका अनुसार पहिलो साता निर्मातालाई ५५ प्रतिशत र दोस्रो साता ५० प्रतिशत सेयर दिनेबारे चलेको छलफल सकारात्मक रहेको र यसबारे निर्णय हुन बाँकी छ ।

एमजीको लागि पनि कुरा सकारात्मक छ शर्माले जानकारी दिए । अहिलेसम्म हलिउडको बहुप्रतीक्षित फिल्म ‘फास्ट एन्ड फ्युरियस’को नवौं श्रृंखलामात्र रिलिजको निश्चित भएको छ । भिन डिजेल स्टारर यो फिल्मले मल्टिप्लेक्समा दर्शक तान्न सक्ने अपेक्षा गरिएको छ ।

असोज पहिलो साता मुलुकभरका हल खोल्ने तयारी
चलचित्र विकास बोर्डले काठमाडौं उपत्यका बाहेक प्रमुख फिल्म बजार रहेको जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग हल खुलाउनेबारे छलफल गरेको छ । बोर्ड अध्यक्ष दयाराम दाहालले १० भन्दा बढी जिल्लाका सीडीओसँग संवाद गरेका छन् ।

जिल्लापिच्छे निषेधाज्ञाको समयावधि फरक-फरक भएकाले मुलुकभरका फिल्म हल खुल्न कम्तीमा एक साता लाग्ने भएको हो । सबै सीडीओ साबहरुले निषेधाज्ञा अवधि सकिने वित्तिकै हल खुलाउने गरी आदेश जारी हुने बताउनुभएको छ’ अध्यक्ष दाहालले भने ।

अहिले काठमाडौं उपत्यकास्थित फिल्म हलहरुलाई ५० प्रतिशत अकुपेन्सीमा खुलाउन अनुमति दिइएपनि देशव्यापी खुल्नुपर्ने र शतप्रतिशत अकुपेन्सी कायम हुनुपर्ने माग गर्दै चलचित्र संघले हल खोलेको छैन । मुलुकभरका हल खुलाउन संचार मन्त्रालयले पनि कोभिड संकट व्यवस्थापन केन्द्र सीसीएमसीलाई पत्र लेख्ने भएको छ । संचार सचिव बैकुण्ठ अर्यालले देशव्यापी हल खुलाउन सीसीएमसीमार्फत पहल गर्ने आश्वासन दिएका छन् ।