दशैंमा म यस्तो गीत गाउँछु २ र तिहारमा चपली हाइट ३ रिलिजको सम्भावना

भदौ ३१, २०७८


गत वर्ष ९ महिना बन्द भएर खुलेका सिनेमा हल कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै तीन महिनामै बन्द भयो । पछिल्लो समय संक्रमण दर कम हुँदै गएपछि सरकारले गत हप्ता स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर ५० प्रतिशत अकुपेन्सीमा तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका सिनेमा हल सञ्चालन गर्न अनुमति दिएको छ । तर, हल भने अझै खुलेका छैनन् ।

फिल्म वितरक तथा हल व्यवसायीहरुको छाता संस्था नेपाल चलचित्र संघले शतप्रतिशत अकुपेन्सीसहित देशैभरका सिनेमा हल खोल्न सरकारले अनुमति नदिएसम्म तीन जिल्लाका मात्र हल नखोल्ने निर्णय गरेको छ । जसले गर्दा नजिकिँदै गरेको दशैंमा पनि सिनेमा हल नखुल्ने होकि भन्ने आशंका उब्जिएको छ । किनकि, फिल्म रिलिजका लागि दशैं विदा सबैभन्दा राम्रो मानिन्छन् ।

सरकारले देशैभरका सिनेमा हल खोल्न अनुमति दिएपछि दशैं(तिहार वा त्यसपछि कुन फिल्म रिलिज गर्ने भन्ने विषयमा चलचित्र संघले यतिबेला विभिन्न फिल्मका निर्मातासँग छलफल गरिरहेको छ । महिनामा २ वटा मात्रै नेपाली फिल्म रिलिज गर्ने र विदेशी फिल्मसँग नजुधाउने गरी यही दशैंमा ‘म यस्तो गीत गाउँछु २’ र तिहारमा ‘चपली हाइट ३’ रिलिज गर्ने तयारीमा चलचित्र संघ छ ।

‘चपली हाइट ३’ का निर्माता अर्जुन कुमारले तिहारमा फिल्म रिलिजका लागि चलचित्र संघसँग निरन्तर छलफल भइरहेको बताए । उनले भने, ‘फिल्म कहिले लगाउने भनेर चलचित्र संघलाई निर्णय गर्ने जिम्मा दिएका छौं । संघले जहिले भन्छ त्यही दिन फिल्म रिलिज हुन्छ । त्यसका लागि हामीले केही ‘एमजी’ डिमान्ड गरेका छौं त्यो पूरा भयो भने फिल्म रिलिज गर्ने जोखिम उठाउँछौं ।

त्यस्तै, ‘म यस्तो गीत गाउँछु २’ का वितरक करण श्रेष्ठले दशैंमा फिल्म रिलिज गर्ने प्रस्तावमाथि चलचित्र संघमा छलफल भइरहेको बताए । उनले भने, ‘दशैं वा त्यसपछि कुन फिल्म रिलिज गर्ने भन्नेमा निर्णय हुन बाँकी छ । यद्यपि, दशैंमा ‘म यस्तो गीत गाउँछु २’ रिलिज गर्ने प्रस्तावमा छलफल भइरहेको छ । केही हदसम्म लगानी सुरक्षित हुने ‘एमजी’ मिलेको खण्डमा फिल्म रिलिज हुन्छ ।

कोरोनाका कारण लामो समय सिनेमा हल बन्द हुँदा निर्माण सकिएका दर्जनौं फिल्ममाथि भएको अर्बौंको लगानी फ्रिज भएको छ । सरकारले हल खोल्न अनुमति दिएपछि गत हप्ता ‘ए मेरो हजुर ४’ ले चैत २५ गते र ‘लप्पन छप्पन २’ ले फागुन १३ गतेलाई रिलिज डेट घोषणा गरेको छ । तर, तत्काल फिल्म रिलिज गर्न निर्माताहरु वितरक र हल व्यवसायीबाट राम्रो ‘एमजी’ को आशमा छन् ।