नेपाल र अमेरिकाबीचको दोस्रो खेल आज

असोज ०१, २०७८


आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा भइरहेको त्रिकोणात्मक सिरिजमा नेपालले आज अमेरिकासँग दोस्रो खेल खेल्दैछ ।नेपाल र अमेरिकाबीचको खेल मस्कटस्थित अल अमरेत क्रिकेट मैदानमा दिउँसो ४:१५ बजे सुरु हुनेछ । सिरिजको पहिलो खेलम‌ै नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । त्यस यता नेपाल ओमानसँग पाँच विकेटले पराजित भयो । बिहीबारको पछिल्लो खेलमा ओमानले अमेरिकालाई ४ विकेटले हरायो ।

सिरिजमा दुई खेल हारिसकेको अमेरिकाविरुद्ध नेपाल लगातार जित हात पार्ने लक्ष्यमा छ, नेपालमै भएको लिग २ मै नेपालले अमेरिकालाई २ खेलमा पराजित गरेको थियो । त्यसैले नेपाल लगातार चौथो जित निकाल्ने योजनामा हुनेछ । अमेरिका पनि नेपालविरुद्ध बदला लिने योजनामा हुनेछ । लिग २ को अंक तालिकामा ओमान १८ अंकसहित शीर्ष स्थानमा रहँदा अमेरिका १२ अंकसहित दोस्रो स्थानमा छ ।

नेपाल ६ अंकसहित छैटौं स्थानमा छ । ओमानविरुद्ध नेपालको ब्याटिङ खासै चलेको थिएन । यस्तै फास्ट बलिङ पनि राम्रो हुन सकेको थिएन । त्यसैले अमेरिकाविरुद्ध नेपाली टिममा यी दुई क्षेत्रमा परिवर्तन हुन सक्छ । मिडल अर्डरमा नेपालको ब्याटिङ जम्न सकेको छैन । शरद भेषावकर र गुल्शन झाले आज अवसर पाउने सम्भावना छ ।