सन्दीपको एकदिवसीय वरियतामा छलाङ

असोज ०७, २०७८


अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सार्वजानिक गरेको नयाँ एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा नेपाली लेग स्पिनर सन्दिप लामिछानेले छलाङ मारेका छन् । एक साता अघि पहिलो पटक शिर्ष सय ९९१० स्थानमा अटाएका सन्दीपले १२ स्थान सुधार गर्दै ७९ औं स्थानमा आफुलाई पुर्‍याएका छन् । सन्दिप एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा शिर्ष एकसय भित्र पर्ने पहिलो नेपाली खेलाडी हुन् । सन्दीप सँगै ७९ औं वरियतामा बंगलादेशका तिब्र बलर रुबेल हुसेन समेत रहेका छन् ।

सन्दीपले भारतीय खेलाडी हार्दिक पान्ड्या, अस्ट्रेलियाका मिचेल मार्श, मार्कुस स्टोइनिस, लगायत खेलाडीलाई पछि पारेका छन् । बरियताको शिर्ष एक सय भित्र अन्य नेपाली खेलाडीले भने स्थान बनाउन सकेनन् । २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न सुरु गरेको नेपाली टिमका कुनै पनि खेलाडी हालसम्म वरियताको शिर्ष सयमा स्थान बनाउन सकेनन् । तर ओमान भ्रमणमा सन्दीपले आफुलाई स्थापित गरे, ओमान जानु अघि सन्दीप १२८ औं स्थानमा रहेका थिए ।

नेपालले ओमान भ्रमणका क्रममा पपुवा न्यु गिनीसँग दुई वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको थियो जहाँ सन्दीपले ४ र ६ गरि १० विकेट लिएका थिए । त्यसपछि ओमान र अमेरिकासंगको त्रिकोणात्मक सिरिजको ३ खेलमा सन्दीपले ८ विकेट लिंदै सनसनिपुर्ण प्रदर्शन गरेका थिए । २०२१ मा एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने सूचीमा सन्दीप तेश्रो स्थानमा रहेका छन् । उनले यो वर्ष ६ खेलमा ५ इनिङ खेल्दै १८ विकेट लिईसकेका छन् ।

उनि भन्दा अघि श्रीलंकाका दुश्मन्था चमिरा २० विकेट तथा आयरल्याण्डका सिमि सिंह १९ विकेटका साथ अघि रहेका छन् । बंगलादेशका पेसर मुस्तफिजुर रहमानले पनि सन्दिपको समान १८ विकेट लिएका छन् । सन्दीप नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय र टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक विकेटलिने खेलाडी समेत हुन् । उनले एकदिवसीय अन्तर्राष्ट्रियमा १६ खेलको १५ इनिङ्समा ४१ विकेट तथा टी-२० अन्तर्राष्ट्रियमा २५ खेलमा ४७ विकेट लिएका छन् ।