महानायक’ विवादमा सलोनले पनि मागे माफी

असोज २५, २०७८


निर्देशक शोभित बस्नेतले फिल्म ‘डाँडाको बरपीपल’ को गीत रिलिज कार्यक्रममा अभिनेता राजेश हमाललाई दिइएको ‘महानायक’ पदवीमाथि प्रश्न उठाएपछि ठूलै विवाद जन्मियो । यो विवाद यतिसम्म चर्कियो कि उनकै फिल्मलाई दर्शकले बहिस्कार गर्नेसम्मको कुरा उठाए । यसबाट डराएर शोभितले ट्रेलर सार्वजनिक कार्यक्रममा अबदेखि राजेश हमाललाई ‘महानायक’ मान्ने वाचा नै गरे । ‘महानायक’ विवाद चर्किएकै समयमा उनका छोरा तथा अभिनेता सलोन बस्नेतले पनि ‘महानायक’ को परिभाषा आफूलाई थाहा नभएको बताए । यो अभिव्यक्ति उनी आफैंमाथि भारी पर्‍यो । केही दिनयता सामाजिक सञ्जालमा उनीमाथि गालीको वर्षा भएको छ । दर्शकहरुले अबदेखि उनका फिल्म नहेर्नेसम्म भनेका छन् । अन्ततः उनले पनि पिताले झैँ गरी दर्शकसँग माफी मागेका छन् । आइतवार सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै उनले हडबडाहटमा बोल्न नजानेर आफूबाट ठूलो गल्ती भएको बताएका छन् । उनले लेखेका छन्, ‘मेरो पिढीको सबैभन्दा भाग्यमानी कलाकार लाग्थ्यो । मलाई थाहा थिएन, दिन यस्तो आउला जब मैले उहाँहरूमा फरक छुट्याउनु पर्नेछ भनेर । मेरो अहम, मेरो गर्व, मेरो धर्म, मेरो कर्म सबै जहाँ सिकेँ, त्यो मुहारलाई १, २ र ३ गरेर छुट्याउनु मेरो हैसियतभन्दा धेरै माथिको कुरा लाग्यो । शब्द छनोट गलत भयो मेरो तर मनबाट गलत सोचेको छैन ।’ आफ्नो शब्दले असर पर्न पाएकोमा उनले सबैसँँग माफी मागेका छन् । आजसम्म सिनेमाबाहेक अरु सोच्न नसकेको र कहिल्यै सोच्दा पनि नसोच्ने उल्लेख गर्दै सलोनले आफूलाई गलत नबनाइदिन आग्रह गरेका छन् । उनले फेसबुकमा स्टाटस पोस्ट गर्दै गर्दा राजेश हमालसँग पनि माफी माग्दै ‘माफ गर्दिनुस् महानायक’ भनेर लेखेका थिए । तर, अहिले उनको स्टाटसमा यो लाइन छैन ।