राष्ट्रपति टुँडिखेलमा आयोजित फूलपाती बढाइँ समारोहमा सरिक हुने

असोज २५, २०७८


असोज २५, नेपाली सेनाले परम्परागत रूपमा फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा मङ्गलबार फूलपाती बढाइँ गर्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारी मङ्गलबार अपराह्न सैनिक मञ्च टुँडिखेलमा आयोजित फूलपाती बढाइँ समारोहमा सरिक हुने भएकी छिन् । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन् । उक्त अवसरमा सेनाले राइफल र तोपबाट लहरे एवं एकठ्ठा बढाइँ प्रस्तुत गर्नेछ ।

सैनिक हेलिकप्टरले पुष्पवृष्टिका साथै सैनिक ब्याण्डबाट राष्ट्रिय धुन प्रस्तुत हुनेछ । त्यसअवसरमा इज्जत अर्पण कवाज, विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपाससहितको बढाइँ हुुनेछ । कोभिड–१९ को सङ्क्रमण जोखिमका कारण विगत वर्षदेखि नै फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिन सानो र छरितो कार्यक्रम आयोजना गरिन लागेको हो । समारोहमा उपस्थित सबै पाहुनालाई मास्कको प्रयोग अनिवार्य गरिएको छ ।