साफ उपविजेता नेपाली टिम सोमबार स्वदेश फर्कने

असोज ३१, २०७८


आश्विन ३१, माल्दिभ्समा आयोजना भएको साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम सोमबार नेपाल आईपुग्ने भएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाले उपविजेता नेपाली टिम सोमबार बिहान नेपाल आईपुग्ने जनाएको छ । नेपाली टिम बिहान ९ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लने छन् ।

मालेमा शनिबार राति भएको फाइनलमा नेपाल भारतसँग ३/० ले पराजित भएको थियो । फाइनलमा पराजित भएपछि नेपाल ऐतिहासिक उपाधि जित्नबाट बन्चित भएको थियो । तर, नेपाल पहिलो पटक साफको उपविजेता बनेको हो । पाँच राष्ट्र सहभागी प्रतियोगितामा नेपाल लिग चरणमा उपविजेता बन्दै फाइनल पुगेको थियो ।

भारतले भने राउण्ड रोबिन लिगको शीर्ष स्थानमा रहदै फाइनल खेलेको हो । लिग चरणमा नेपालले माल्दिभ्स र श्रीलंकालाई हराएको थियो । यस्तै भारतसँग पराजित भएको नेपालले बंगलादेशसँग बराबरी खेलेको थियो ।