आजदेखि टी-२० विश्वकप

असोज ३१, २०७८


असोज ३१, आजदेखि टी-२० विश्वकप २०२१ सुरु हुँदैछ । आगामी १४ नोभेम्बरसम्म युएई र ओमानमा हुने विश्वकपमा आजदेखि पहिलो चरणका खेल हुन लागेका हुन् । पहिलो चरणको खेल अन्तर्गत आज पहिलो खेल ओमान र पपुवा न्युगिनीबीच हुँदैछ । ओमानको अल अमरेत रंगशालामा हुने खेल दिउँसो पौने चार बजे सुरू हुनेछ ।

आजै बंगलादेश र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । राति पौने आठ बजे सुरु हुने यो खेल पनि अल अमरेतमै हुनेछ । टी-२० विश्वकप २०२१ मा सहभागी १६ टिमले दुई चरणमा प्रतिस्पर्धा गर्नेछन् । जसमा आठ टिमले पहिलो चरणमा प्रतिस्पर्धा गर्दा आठ टिम सिधैं सुपर-१२ मा पुगेका छन् ।

सुपर-१२ मा बाँकी चार टिम पहिलो चरणबाट छनोट हुनेछन् । पहिलो चरणमा दुई समूहमा प्रतिस्पर्धा हुनेछ । समूह विजेता र उपविजेता गरी चार टिम सुपर-१२ मा पुग्नेछन् । पहिलो चरणबाट चार टिम सुपर-१२ पुगेपछि २३ अक्टोबरबाट दोस्रो चरणको खेल हुनेछ ।

जसमा अस्ट्रेलिया र दक्षिण अफ्रिका तथा इंग्ल्यान्ड र वेस्ट इन्डिज पहिलो दिन भिड्नेछन् । २४ अक्टोबरमा भारत र पाकिस्तानबीच खेल हुनेछ । सुपर- १२ को समूह विभाजनमा भारत र पाकिस्तान एउटै समूहमा छन् । भारत र पाकिस्तानसँगै न्युजिल्यान्ड, अफगानिस्तान, समूह ए उपविजेता र समूह बी विजेताले समूह-२ मा प्रतिस्पर्धा गर्नेछन् ।

समूह(१ मा इंग्ल्यान्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, समूह ए विजेता र समूह बी उपविजेताबीच खेल हुनेछ । प्रतियोगिताका खेल दुबई अन्तर्राष्ट्रिय रंगशाला, अबुधावीको शेख जायेद रंगशाला, शारजाह रंगशाला र ओमान क्रिकेट एकेडेमी मैदानमा हुनेछन् । प्रतियोगिताको सेमिफाइनल १० र ११ नोभेम्बरमा हुनेछ भने फाइनल खेल १४ नोभेम्बरमा दुबईमा हुनेछ ।