हलमा चहलपहल देखिएन,प्रदर्शनीको तयारीमा रहेको फिल्म पनि थन्किए

कार्तिक ०४, २०७८


दशैँका बेला रमाइलो गर्न फिल्म उपयुक्त माध्यम भए पनि यस पटक सिनेमाघरमा त्यति चहलचहल देखिएन ।

फूलपातीका दिन नेपाली फिल्म ‘डाँडाको वरपीपल’ प्रदर्शन भए पनि दर्शकको उपस्थिति खासै देखिएन । शोभित बस्नेतको निर्देशनमा तयार भएको फिल्म नवराज गिरीले निर्माण गर्नुभएको हो । फिल्ममा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुविना थापालगायतका कलाकारको अभिनय छ । फिल्म हेर्न हलसम्म दर्शक पुगेनन् त्यसैले यसले बक्स अफिसमा खासै प्रभाव जमाउन सकेन ।

कोभिड–१९ कै कारण फिल्म हेर्न दर्शक सिनेमा घरसम्म पुग्न इच्छुक भएनन् । यसका कारण प्रदर्शनीको तयारीमा रहेको फिल्म पनि थन्किएको छ । गत २०७६ फागुन ३० देखि प्रदर्शन मिति तय भएको चलचित्र ‘म यस्तो गीत गाउँछु–२’ अहिलेसम्म प्रदर्शन भएको छैन ।

यस्तै निर्माता अर्जुनकुमारको ‘चपली हाइट–३’ चैत २८ मा प्रदर्शनको तयारीमा थियो । यही मितिमा सन्तोष सेनको ‘प्रेमगीत–३’ आउने तयारी थियो तर चैत ११ देखि पहिलो बन्दाबन्दीका कारण अहिलेसम्म पनि प्रदर्शनीमा आएको छैन । कोरोना महामारीको असर यी दुई फिल्मलाई मात्रै परेको होइन । चलचित्र निर्माता सङ्घका महासचिव अशोक शर्माले प्रदर्शनका लागि तयार रहेका ‘लक्का जवान,’ ‘हिजोआजका कुरा,’ ‘सुस्केरा,’ ‘नीरफूल,’ ‘माइकल अधिकारी,’ ‘षट्कोण,’ ‘आकाशे खेती’लगायत दर्जनभन्दा बढी फिल्म निर्माता अझै अलमलमा रहेको जानकारी दिए ।

वर्षमा एक सयभन्दा बढी फिल्म प्रदर्शन हुने यस क्षेत्रमा लामो समयदेखि शून्यता छ भन्दै उहाँले भन्नुभयो, “महामारीअघि ५५ वटा नेपाली फिल्म प्रदर्शनमा आएको थियो । त्यसपछि ठप्प छ । ”
गत २०७७ सालमा ७१ वटा फिल्मले चलचित्र विकास बोर्डबाट निर्माण इजाजत मागेको थियो । यस वर्षका लागि हालसम्म एक दर्जनभन्दा बढी फिल्म दर्ता भएका छन् ।