प्रदीपलाई आँचल शर्माको फिल्म अफर ?

मङि्सर ०१, २०७८


फिल्म ‘नाइँ नभन्नू ल ४’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी आँचल शर्मा अब निर्मात्री बन्ने तयारीमा छिन् । दुई वर्ष अगाडि उदिप श्रेष्ठसँग विवाह बन्धनमा बाँधिएकी उनले श्रीमानलाई निर्माताको रुपमा उभ्याएर फिल्म बनाउन लागेकी हुन् । फिल्मलाई मिलन चाम्सले निर्देशन गर्नेछन् । आँचल दाम्पतिले कयौं पटक निर्देशक चाम्सको घरमा बसेर फिल्मको बारेमा छलफल गरेका छन् ।

तर, यो फिल्म तत्कालै बन्ने छैन । अहिले मिलन फिल्म ‘गोर्खा वारियर २’ निर्माणको तयारीमा छन् । यो सँगै उनको पाइपलाइनमा अर्को दुईवटा फिल्म छ । आँचलले बनाउने फिल्म एक वर्षपछि मात्र छायांकन निस्कन सक्नेछ । फिल्ममा उनी नै मुख्य भूमिकामा देखिने सम्भावना रहेको बताइन्छ । फिल्मका लागि नायकको अफर भने प्रदीप खड्कालाई गरिएको स्रोतले जानकारी दिएको छ ।

दशैंअघि प्रदीपसँग मिलन चाम्सको केही चरण फिल्मको बारेमा कुराकानी भएको थियो । प्रदीपलाई फिल्मको स्क्रिप्ट मन परे पनि काम गर्ने वचन दिइसकेका छैनन् । फिल्म ‘हुतुतु’ का कारण उनले निर्णय दिन नसकेको बताइन्छ । उनले फिल्ममा काम गर्नेमा मिलन र आँचल भने विश्वस्त छन् । फिल्ममा प्रदीपलाई लिने प्रस्ताव आँचलले नै निर्देशक चाम्ससमक्ष राखेको स्रोतको भनाई छ ।

प्रदीप र मिलनले यसअघि फिल्म ‘लिलिबिली’ मा सहकार्य गरेका थिए । तर, यो फिल्म प्रदर्शनसँँगै उनीहरुको सम्बन्धमा खटपट आयो । अब उनीहरु पुरानो दुश्मनी भुलेर पुनः एकपटक फिल्ममा सहकार्य गर्ने तयारीमा छन् । गत बैशाखमा फिल्म ‘प्रकाश’ को सुटिङ सकेर बसेका प्रदीपको ‘प्रेमगीत ३’ प्रदर्शनको पखाईमा छ । उनले हेमराज विसीको फिल्म पनि साइन गरेर बसेका छन् ।