डोल्पामा सुरक्षाको ‘बुलाकी’

मङि्सर ०१, २०७८


अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म ‘बुलाकी’ को यतिबेला डोल्पा क्षेत्रमा छायांकन भइरहेको छ । तिहारलगत्तै फिल्मको छायांकन सुरु भएको थियो । अहिलेसम्म फिल्मको ३५ प्रतिशत छायांकन सकिएको निर्देशक लक्ष्मण सुनारले जानकारी दिए । फिल्ममा सुरक्षासँगै नरेन खड्का, बिराज बिष्ट, प्रकाश कँडेल, सरस्वती खत्री लगायतको पनि मुख्य भूमिका रहेको छ ।

छत्रेश्वरी म्यानेज्मेन्टको ब्यानरमा मोति बिष्टको प्रस्तुति र गोपाल बिष्ट निर्माता रहेको फिल्मको कथा निर्देशक सुनार आफैंले लेखेका हुन् । सुरक्षाले केही दिनअघि भौगोलिक, सामाजिक तथा प्राकृतिक हिसाबले बेग्लै स्थानमा त्यहाँका बासिन्दा जसरी बाँच्दाको अनुभूति फेसबुकमा बाँडेकी थिइन् । कर्णाली भेगको मौलिक कथामा निर्माण भइरहेको फिल्मको छायाँकार शिब ढकाल हुन् ।

से-फोक्सोन्डो तालमा समेत खिचिने फिल्ममा रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, उपासना वाइवा, सोनु सेढाइ, धनबहादुर राई, कमल गाउँले लगायतको पनि अभिनय छ । सौगता कँडेल सह-निर्माता रहेको ‘बुलाकी’ का गीतमा गोबिन्द मधुर आचार्य, श्रीकृष्ण बम मल्ल र बादल थापाको संगीत छ । फिल्म जारी प्रथामाथि आधारित छ ।