एमाले महाधिवेशन : निर्विरोध निर्वाचित हुने ५ पदाधिकारी

मङि्सर १३, २०७८


मंसिर १३, नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनबाट ५ जना पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । आइतबारको बन्दसत्रमा ओलीले प्रस्ताव गरेका वरिष्ठ उपाध्यक्ष र महासचिव र उपमहासचिवका पदाधिकारी विरुद्ध कुनैपनि उम्मेदवारी नपरेपछि पाँच जना निर्विरोध निर्वाचित भएका हुन् । जारी महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा इश्वर पोखरेल निर्विरोध निर्वाचित भएका छन् ।

यसअघि सुवास नेम्वाङले पनि वरिष्ठ उपाध्यक्ष दाबी गरेका थिए तर ओलीले अन्य स्थानमा व्यवस्थापन गर्ने आश्वासन दिएपछि नेम्वाङ ब्याक भएका हुन्। त्यस्तै शंकर पोखरेल पनि महासचिवमा निर्विरोध निर्वाचित भएका छन् । पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली र विष्णु रिमाल पनि निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध निर्वाचित भएका पाँचै जनाको औपचारिक घोषणा भने भएको छैन ।

बाँकी पदाधिकारीहरुमा भने निर्वाचन हुनेछ । उपाध्यक्ष पदका लागि घनश्याम भुसालले पनि उम्मेदवारी दिएपछि निर्वाचनमै जानुपर्ने भएको हो । भीम आचार्य र टंक कार्कीले पनि सचिवमा उम्मेदवारी दिएपछि सो पदका लागि निर्वाचन हुनेछ । पदाधिकारीमा उम्मेदवारी दिने समय भने सकिइसकेको छ ।