‘कठपुतली’ ले हलमा फर्कायो दर्शक

पुष १८, २०७८


शुक्रबारदेखि प्रदर्शन भएको चलचित्र ‘कठपुतली’ लाई दर्शकले साथ दिएका छन् । शुक्रबार र शनिबार यो चलचित्रको अकुपेन्सी काठमाडौंका मल्टिप्लेक्समा उच्च देखिएको छ । शनिबार बिहानैबाट चलचित्रले काठमाडौंका क्यूएफएक्स, बिग मुभिज, वान सिनेमाज लगायतका हलमा हाउसफुल व्यापार गरेको छ । दुई वर्षपछि हलमा नेपाली चलचित्र हेर्न दर्शकको भीड देखिएको हो ।

चलचित्रकर्मीहरुले पनि यो चलचित्रले दर्शक फर्काएको भन्दै सामाजिक सञ्जालबाट बधाई दिइरहेका छन् । डीसीएनका अध्यक्ष एवं वितरक अशोक शर्मा, एफडी कम्पनीका अध्यक्ष सुशील पोखरेल लगायतले चलचित्रले सुखद् व्यापार गरेको भन्दै खुशी व्यक्त गरे । यो चलचित्रको कथावस्तुलाई दर्शकले रुचाएका छन् । शनिबार नै चलचित्र हेर्न पुगेको ‘नेपाल आइडल ४’ का प्रतिस्पर्धीहरुले नेपाली चलचित्रको निर्माणको स्तर बढेकोमा खुशी व्यक्त गरे । उनीहरुले चलचित्रको कथावस्तु, कलाकारको अभिनय, प्रस्तुति र साउण्ड उत्कृष्ट रहेको प्रतिक्रिया दिए ।

सम्पदा मल्लको लेखनमा तयार भएको यो चलचित्रलाई पृथ्वी रानाले निर्माण गरेका हुन, भने भीमसेन लामा चलचित्रका निर्देशक हुन । चलचित्रमा मिथिला शर्मा, गौरी मल्ल, कर्मा, धु्रव कोइराला, उषा रजक, शिल्पा मास्के लगायतको अभिनय छ । चलचित्रको व्यापारिक रिपोर्ट भने सार्वजनिक भएको छैन ।