पूर्वराजा ज्ञानेन्द्र शाह द्धारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण

पुष २७, २०७८


पुस २७, पूर्वराजा ज्ञानेन्द्र शाहले सिंहदरबारको मुख्य गेटबाहिर रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायणको सालिकमा माल्यार्पण गरिसकेपछि पूर्वराजा शाह पनि सिंहदरबार पुगेर उनको सालिकमा माल्यार्पण गरेका हुन् । पृथ्वीनारायण शाहले चलाएको नेपालको शाह वंशीय राजतन्त्रमा ज्ञानेन्द्र अन्तिम राजा हुन् ।

आफ्ना पुर्खासमेत रहेका पृथ्वीनारायणको सालिकमा माल्यार्पण गर्न उनी पहिलो पटक सिंहदरबार गएका हुन् । शाहका संवाद सचिव फणिराज पाठकले यो वर्ष पृथ्वीनारायणको ३०० औं जन्मजयन्ती भएकाले पूर्वराजा ज्ञानेन्द्र सालिकमा माल्यार्पण गर्न सिंहदरबार गएको बताए । राजतन्त्र हुँदा नेपालमा पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा दिने गरिन्थ्यो । गणतन्त्र आएपछि बिदा कटौती गरिएको छ । पछिल्लो समय पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउनु पर्ने माग उठिरहेको छ ।