जेलेन्स्कीको दाबी, १३०० युक्रेनी सैनिक मारिए, ५०० रुसी सेनाले आत्मसमर्पण गरे

फागुन २९, २०७८


फागुन २९, युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुसको आक्रमणबाट हालसम्म १३०० सैनिक मारिएको बताएका छन् । उनका अनुसार ५०० रुसी सैनिकले आत्मसमर्पण गरेका छन् । राजधानी किएभमा आयोजित एक पत्रकार सम्मेलनमा उनले उक्त दाबी गरेका हुन् । उनले ठूलो संख्यामा रुसी सैनिकको पनि मृत्यु भएको बताएका छन् ।

उनले ५०० देखि ६०० रुसी सैनिकले आत्मसमर्पण गरेको दाबी गरे पनि स्वतन्त्र रुपमा पुष्टि हुन सकेको छैन । उनले कतिपय रुसी सेनालाई युक्रेनमा किन पठाइयो भन्ने कुरा थाहासमेत नभएको दाबी गरेका छन् । उनले भनेका छन्, एक प्लाटुनले हतियार बुझाउने क्रममा आफूहरुलाई मानिसको ज्यान लिन यहाँ पठाएको भन्ने थाहा थिएन भनेका थिए ।

यसैगरी उपप्रधानमन्त्री इरीना विरेश्चुकका अनुसार शनिबारको दिन करिब १३ हजार युक्रेनी नागरिकहरुलाई सुरक्षित स्थानतर्फ पठाइएको छ । शुक्रबार त्यसको आधा संख्यालाई सुरक्षित स्थानमा पठाइएको पनि उनले बताइन् । सर्वसाधारणलाई मानव ढालको रुपमा प्रयोग गर्न युक्रेनी सेनाले नागरिकहरुलाई बाहिर जान नदिएको आरोप लागेको बेला उपप्रधानमन्त्री इरीनाको यो भनाइ सार्वजनिक भएको हो ।