लूट ३ को पटकथाको काम सुरु

बैशाख १४, २०७९


बैशाख १४, नेपाली फिल्मको कथ्य शैलीमा परिवर्तन ल्याएको फिल्म ‘लूट’ को तेस्रो सिरिजको काम सुरु भइसकेको छ । नेपाली फिल्ममा संकटकाल लगाउने तयारी भइरहँदा ‘लुट’ को बक्स अफिस सफलताले आशा जगाएको थियो । लूट र लुट २ को सफलता पश्चात सोही टिमले तेस्रो सिरिजलाई दर्शकसामु ल्याउने तयारी थालेका हुन ।

नेपाली फिल्मको कथावाचनमा ट्रेण्डसेटर भनिएको फिल्मको स्क्रिप्टको काम भइरहेको निर्माता मध्येका एक माधव वाग्लेले जानकारी दिए ।हामीले केही समय अगाडि देखि काम थालिसकेका छौँ । हल्ला गर्नु भन्दा पनि पहिला हामी काम गर्ने मुडमा छौँ निर्माता वाग्लेले भने । दर्शकले प्रतीक्षा गर्ने नेपाली फिल्महरुको सिरिजमा लूट पनि एक हो । विशेषत यसले युवा पुस्तालाई हलसम्म तान्न मदत गरेको थियो ।

हाम्रो टिममा केही परिवर्तन भएता पनि निर्देशक र निर्माण टिम उही रहनेछन् निर्माता वाग्ले भन्छन हामीले स्क्रिप्ट लक्ड नभएसम्म केही भन्ने अवस्था छैन । सन् २०१२ मा रिलिज भएको निश्चल बस्नेत निर्देशित फिल्मको दोस्रो भाग सन् २०१७ मा प्रदर्शनमा आएको थियो । फिल्मको टिमबारे औपचारिक रूपमै स्क्रिप्टको काम सकिएपछि जानकारी दिने निर्माता वाग्लेले बताए ।