को हुन् आईजीपी भएका सिंह ?


सरकारले नेपाल प्रहरीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) धिरजप्रताप सिंहलाई नियुक्त गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेको एक मन्त्रीले बताए ।
दैलेखको विजौरामा २०२४ सालमा जन्मिएका सिंहले कानूनमा स्नातक र मानविकीमा स्नातकोत्तर तहको अध्ययन गरेका छन् ।
उनी हालका आईजीपी शैलेश थापासहितको टोलीसँगै निरीक्षकका लागि प्रतिष्पर्धा गरेका थिए । तर वैकल्पिक सूचीमा परे र २०४९ चैतमा नियुक्ति लिए ।
३० वर्षे सेवा अवधि कायमै रहे उनले अब एक वर्ष प्रहरी संगठन चलाउनेछन् । सिंहले प्रहरी नायब महानिरीक्षक (डीआईजी) छँदा मधेश प्रदेश र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को नेतृत्व गरेका छन् ।
प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) छँदा उनले तत्कालीन महानगरीय अपराध अनुसन्धान महाशाखा (हालको उपत्यका अपराध अनुसन्धान कार्यालय)को नेतृत्व गरेका थिए । एसपी छँदा उनले पर्सा र दाङको नेतृत्व गरेका थिए ।