तुलसीपुरमा जसपा एक्लै चुनाव लड्दै

बैशाख २३, २०७९


तुलसीपुर, २३ बैशाख ।

सत्तागठबन्धन दल जनता समाजवादी पाटी ९जसपा०ले तुलसीपुर उपमहानगरपालिकामा एक्लै चुनाव लड्न लागेको छ । पाँच दलिय सत्तागठबन्धन दलहरुले देशभर विभिन्न पालिकामा चुनावी तालमेल गरेपनि तुलसीपुरमा भने जसपा एक्लै चुनाव लड्न लागेको छ । सत्तारुढ दल कांग्रेस, माओवादी केन्द्रले सम्मानजनक स्थान दिन नसकेको भन्दै जसपा गठबन्धनबाट बाहिरीएको तुलसीपुर उपमहानगरपालिका मेयर पदका उमेदवार टोप बहादुर महतराले बताउनुभयो । पाटीको तर्फबाट अहिले मेयर र उपमेयरमा आफुहरु चुनाव लड्न लागेको उहाले बताउनुभयो । उहाले जिल्लाभर कसै संग पनि चुनावी तालमेल नगरेको जानकारी दिनुभयो । तुलसीपुरमा जसपाको तर्फबाट उपमेयर पदका उमेदवार धनसरा विक रहनु भएको छ ।

यस्तैगरी तुलसीपुर क्षेत्रका १९ वटा वडा मध्ये केहि वडामा अध्यक्ष सहित पाँच जनाको प्यानल चुनावी मैदानमा रहेको उहाले बताउनुभयो । तर कतिपय वडा तहमा भने अध्यक्ष वा सदस्य मात्रै उमेदवार रहेका छन् । नगर कमिटिका संयोजक समेत रहनु भएका महतराले तुलसीपुर ६,७ मा पुरै टिम र वडा नम्वर १ मा सदस्य र वडा नम्वर ९ मा अध्यक्ष पदमा उमेदवार रहेको बताउनुभयो । यसैगरी अन्य वडामा पनि पाटीका उमेदवारहरु रहेका छन् ।

उहाले चुनावी प्रचारप्रसारलाई तिव्र पारेको बताउनुभयो । तुलसीपुर उपमहानगरपालिकाको समग्र विकास र मुहार फेर्नलाई आफनो उमेदवारी रहेको उहाले बताउनुभयो । शिक्षा, स्वास्थ्यलाई निशुल्क बनाउने उहाले बताउनुभयो । यस्तैगरी तुलसीपुरमा देखीएको व्यथितिलाई व्यवस्थित, भ्रष्टाचार अन्त्य, हरेक योजनाको गुरुयोजना बनाएर काम गर्ने, सरकारी बजेटलाई दुरुपयोग हुनबाट रोक्ने लगाएतका कामहरु गर्ने प्रतिवद्धता उहाले जनाउनु भएको छ ।