डकुमेन्ट्री फिल्म जोगीले जित्यो दुई अवार्ड

बैशाख २९, २०७९


नेपालका विभिन्न स्थानमा अझै फेरि प्रथा छ । साउन, कार्तिक तथा चैत महिनामा जोगी जातका पुरुषहरूले राति घरको वरिपरि घुमि शंख बजाइ फेरी लगाउने गरिन्छ । यसै विषयमा निर्माण भएको दयाराम घिमिरे निर्देशित डकुमेन्ट्री फिल्म ‘जोगी स् द गड अफ नाइट’ ले अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा दुई अवार्ड जितेको छ ।

फिल्मले एक साता भित्र भारतको मोख्खो इन्टरनेशनल फिल्म अवार्ड तथा भुटानको डुक इन्टरनेशनल फिल्म अवार्ड हात परेको छ । दक्षिण भारतको पुन्डुचेरीमा आयोजना भएको मोख्खो इन्टरनेशनल फिल्म फेस्टिभलमा यो फिल्म उत्कृष्ट डकुमेन्ट्री सर्ट फिल्म बनेको हो । विश्वभरबाट आएका फिल्महरुलाई पछि पार्दै नेपालबाट गएको यो डकुमेन्ट्री उत्कृष्ट बनेको हो ।

भुटानमा आयोजना हुँदै गरेको डुक इन्टरनेशनल फिल्म फेष्टिभलमा पनि ‘जोगी स् द गड अफ नाइट’ले आउटस्ट्यान्डिङ अचिभमेन्ट अवार्ड जितेको हो । नेपाली संस्कृति बोकेको वृत्तचित्रले यसरी अवार्ड जित्नु नेपाल र नेपालीहरुको लागी गर्वको कुरा भएको निर्देशक घिमिरे बताए ।

संखुवासभा र धरानमा छायांकन गरिएको यस वृत्तचित्रमा फेरी लगाउँदै हिँड्ने ओमनाथ जोगीलाई फिचर गरिएको छ भने निर्माण दयाराम घिमिरे र हरि उप्रेतीले गरेका हुन् ।