विदुर र मिथिलालाई हरितारा चलचित्र पुरस्कार

जेठ १९, २०७९


काठमाडौं–परिवर्तन नेपालले २०७७ सालको हरितारा चलचित्र पुरस्कार अभिनेत्री मिथिला शर्मा र २०७८ सालको हरितारा चलचित्र पुरस्कार पत्रकार विदुर गिरीलाई प्रदान गरेको छ । राजधानीमा बुधबार आयोजित कार्यक्रममा नेपालकी प्रथम अभिनेत्री भुवन चन्द, अभिनेत्रीहरु करिश्मा मानन्धर, रेखा थापा, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलालगायतले शर्मा र गिरीलाई पुरस्कृत गरेका हुन् ।

हरितारा चलचित्र पुरस्कारका संरक्षक मनोज शमसेर जबराको अध्यक्षतामा बैठकले जनही २५ हजार रुपैयाँ राशीको पुरस्कार शर्मा र गिरीलाई प्रदान गर्ने निर्णय अनुरुप उनीहरुलाई बुधबार पुरस्कार प्रदान गरिएको हो ।

परिवर्तन नेपालको बैठकले गीतकार, लेखक, निर्देशक तथा सस्कृतिकविद स्व.चेतन कार्कीको स्मृतिमा स्थापना गरेको ‘चेतन कार्की स्मृति पुरस्कार २०७८’ लेखक, निर्देशक तथा अभिनेता देशभक्त खनाललाई प्रदान गरिएको थियो । त्यस्तै ‘परिवर्तन पत्रकारिता विशेष सम्मान’ सञ्चारकर्मी दिनेश सिटौलालाई प्रदान गरिएको थियो । पुरस्कारको राशी जनही ११ हजार रुपैंयाँ रहेको छ ।

कार्यक्रममा परिवर्तन नेपालले स्थापना गरेको वि.सं. २०७७ र २०७८ सालको ‘दुर्गादेवी–पुण्य निरौला स्मृति पुरस्कार’ अभिनेता विनोद श्रेष्ठ र प्राविधिक मनोज केसीलाई प्रदान गरिएको थियो । यो पुरस्कारको राशी जनही १० हजार रुपैंयाँ छ ।

कार्यक्रममै निर्देशक मदन घिमिरे, निर्माता तथा निर्देशक ज्ञानेन्द्र देउजा, अभिनेता श्रीदेव भट्टराई, लेखक तथा निर्माता मौनता श्रेष्ठ, अभिनेता राजकुमार शाहलाई ‘परिवर्तन नेपाल विशेष सम्मान’ प्रदान गरिएको थियो ।

त्यस्तै अभिनेत्री शारदा गिरी ‘काली बुढी’, निर्देशक जनक खकुरेल, निर्देशक देवेन्द्र पाण्डे, मोडल दिपाशा विसी, खेलाडी तथा कलाकार नन्दा बस्याल, रंगकर्मी मञ्जु निरौला, रंगकर्मी रजनी अर्याल, रंगकर्मी रेणु पौडेललाई ‘परिवर्तन सम्मान’ दिइएको थियो ।