‘तीतो सत्य’ का राजले गरे अभिनेत्री सुनिशासँग बिहे

असार ०७, २०७९


अभिनेत्री तथा मोडल सुनिशा बजगाईंले कलाकार समेत रहेका प्रेमी राज आचार्यसँग विवाह गरेकी छन् । मंगलवार कालोपुलस्थित शुभम् पाटी प्यालेसमा हिन्दू परम्पराअनुसार उनीहरुको विवाह भएको हो । उनीहरुको विवाह समारोहमा दुई पक्षका परिवार र आफन्तका साथै केही कलाकारहरुको पनि उपस्थिति रहेको थियो । राजसँग सुनिशा विगत डेढ वर्षदेखि प्रेम सम्बन्धमा थिइन् ।

उनीहरुको विवाह समारोहमा दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्मा सहभागी भएका थिए । राजले बाल्यावस्थामा चर्चित हाँस्य टेलिभिजन सिरियल ‘तीतो सत्य’मा अभिनय गरेका थिए । त्यसबेलादेखि उनी बाल्यकालदेखि नै दीपक-दीपा र निर्मलसँग नजिक थिए । राज, चर्चित हाँस्य कलाकार शंकर आचार्यका छोरा हुन् । उनले चार्टर्ड अकाउन्टेन्ट सिए को पढाइ गरेका छन् ।

सुनिशाले म्यूजिक भिडियोसँगै दुई सफल फिल्म ‘प्रसाद’ र इन्टु मिन्टु लण्डनमा मा सहायक अभिनेत्रीको रुपमा अभिनय गरेकी छन् । टिकटकबाट चर्चामा आएकी उनले राज आचार्यसँग केही म्यूजिक भिडियोमा अभिनय पनि गरेकी छन् । यो जोडीले बुधवार रिसेप्सन पार्टीको आयोजना गरेको जानकारी प्राप्त छ । विवाहभन्दा अगाडि उनीहरुले एकसाथ ब्याचलर पार्टी मनाएका थिए ।