‘प्रसाद २’मा कलाकार हेरेफर, ‘रचनात्मक मतभेद’ भन्दै निश्चल बाहिरिंदा अर्पणको प्रवेश

असार १२, २०७९


काठमाडौं १२ असार।

छायांकनको तयारीमा रहेको फिल्म ‘प्रसाद २’बाट अभिनेता निश्चल बस्नेत पनि बाहिरिएका छन् । टिमसँग ‘रचनात्मक मतभेद’को कारण देखाउँदै उनी प्रोजेक्टबाट बाहिरिएको स्रोतले जनाएको छ ।

निश्चलको ठाउँमा अर्पण थापाको प्रवेश हुने जनाइएको छ । मंगलबार पत्रकार सम्मेलनमार्फत यसबारे औपचारिक दिने निर्माताको तयारी छ । अनलाइनखबरसँग कुरा गर्दै अभिनेता थापाले पनि आफूलाई फिल्मको ‘अप्रोच’ गरिएको बताए । ‘मौखिक सहमति हो, लिखित हुन बाँकी छ,’ थापाले भने ।

अर्को प्रोजेक्टका कारण समय दिन नसक्ने भन्दै निश्चल बाहिरिएको स्रोतले उल्लेख ग¥यो । साथै, टिमसँग मतभेद रहेका कारण उनले छाडेको जनाइएको छ ।

यसअघि निर्देशक पनि हेरेफेर भएका थिए । सौरभ चौधरीले छाडेपछि सुदर्शन थापा निर्देशकको रुपमा आएका थिए । निर्देशकले छाडेको केही सातामै मुख्य अभिनेताले पनि ‘प्रसाद २’ छाडेका छन् ।

विपिन कार्की र नम्रता श्रेष्ठ भने निरन्तर छन् । अन्य नयाँ कलाकारलाई पनि लिएर फिल्मलाई फ्लोरमा लैजाने तयारी भएको छ । दिनेश राउत निर्देशित अघिल्लो भागमा निश्चल, विपिन र नम्रता सँगै थिए ।

असार १५ गतेदेखि फिल्म सुटिङ हुने भनिए पनि विपिनको बलिउड फिल्म एनिमलको सेड्युलका कारण छायांकन मिति यकिन छैन । अभिनेता विपिनले एक–दुई दिनमै आफूले यसबारे जवाफ पाउने बताए ।