सलोन र शिल्पा स्टारर ‘मिलन’ आगामी तिहारमा प्रदर्शन हुने

असार २०, २०७९


काठमाडौं । सलोन बस्नेत र टिकटकबाट चर्चित शिल्पा थापा स्टारर चलचित्र ‘मिलन’ आगामी तिहारमा रिलिज हुने भएको छ । चलचित्रमा सलोन र शिल्पासहित कुशल ठकुरी, शिशिर बाङ्देल, विशाल पहाडी, जानुका पौडेल लगायतको मुख्य भूमिका छ । शिल्पाको यो डेब्यु चलचित्रसमेत हो।

त्रिकोणात्मक कथावस्तुमा आधारित चलचित्रलाई टेक पौरखी राईले निर्देशन गरेका हुन् । राईले यसअघि फिल्म मट्टीमाला र माया पिरिम निर्देशन गरिसकेका छन् । ‘मिलन’को पटकथा पनि उनैले लेखेका हुन् । तीनवटा गीत समावेश चलचित्रमा कविराज गहतराजको नृत्य निर्देशन छ ।

काठमाडौं र दोलखाको कालिञ्चोकमा छायांकन गरिएको चलचित्रलाई प्रवीण थापा निर्माण गरेका हुन् । राहुल राईको छायांकन रहेको चलचित्रमा तारा थापा किम्बेको सम्पादन छ ।