स्वास्थ्य र एयरपोर्ट पहिलो प्रथामिकता : स्वास्थ्य राज्यमन्त्री केसी

असार २५, २०७९


तुलसीपुर, २५ असार ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले दाङको स्वास्थ्य र टरिगाउँ एयरपोर्ट आफ्नो पहिलो प्रथामिकतामा रहेको बताउनुभएको छ । तुलसीपुर चेम्बर अफ कर्मसले शनिबार आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री केसीले समयावधि छोटो भएकाले धेरै काम गर्न नसकेपनि केहि सुधारका काम गरेर देखाउने बताउनुभयो ।
“बिरामी भएपछि सुरुमा उपचारका लागि जाने राप्ती प्रादेशिक अस्पताल हो । यसको सुधार गर्न आवश्यक छ । तर संघिय र प्रदेशका आ–आफ्नै कानुन हुँदा केहि जटिलता छ । तर पनि यसको स्तर वृद्धिका लागि मेरो पहिलो प्रयास हुनेछ ।” मन्त्रीले केसीले भन्नुभयो ।
उपचारका विषयमा प्रादेशिक अस्पतालमा आएका जनगुनासोलाई आफुले गम्भिर रुपमा लिएको बताउँदै मन्त्री केसीले जनस्तरबाट नै स्थापना भएको अस्पतालले जनतालाई नै केन्द्रमा राखेर सेवालाई थप प्रभाकारी बनाउनु पर्ने बताउनुभयो ।
घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पनि थप व्यवस्थित गर्दै यसको स्तर वृद्धिका लागि संघिय सरकारले ठूलो बजेट विनियोजन गरेको स्वास्थ्य राज्यमन्त्री केसीले बताउनुभयो । दाङलाई हेर्ने दृष्टिकोण आफ्नो एउटै भएको बताउँदै टरिगाउँ एयरपोर्टको स्तर वृद्धि पनि यसै बर्ष हुने बताउनुभयो । अहिलेका पर्यटनमन्त्री आफ्नो साथी भएकाले स्तर वृद्धिका लागि आवश्यक पर्ने बजेटमा कुनै कमि हुन नदिने बताउनुभयो ।

चेम्बरका अध्यक्ष टोपबहादुर घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश पर्यटन विकास परिषदको सदस्यमा मनोनित हुनुभएका व्यवसायी जनक खराललाई पनि स्वागत सम्मान गरिएको थियो । चेम्बरका महासचिव प्रेम प्रकाश गिरीले सहजीकरण गरेको कार्यक्रममा धन्यवाद ज्ञापन कोषाध्यक्ष सन्तोष खड्काले गर्नुभएको थियो ।