दिल्लीबाट फर्केलगत्तै प्रचण्ड किन जान लागे जापान ?

साउन १०, २०७९


साउन १०, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान जाने भएका छन् । उनी साउन २१ गते जापान भ्रमणमा जान लागेका हुन् । जापानस्थित नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन उनी साउन २१ गते त्यहाँ जान लागेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । भ्रमण पाँच दिनको हुनेछ, समृद्ध नेपालको आधार आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकारु विषयक कार्यक्रममा प्रचण्डले सम्बोधन गर्ने जनप्रगतिशिल मञ्च जापानका अध्यक्ष भवानी पन्तले जानकारी दिए ।

साउन २२ गते उक्त कार्यक्रम जापानको टोकियोमा रहेको खामेइदो कल्चर सेन्टरमा हुनेछ । भ्रमणका क्रममा प्रचण्डले जापानको सरकारी उच्चस्तरीय अधिकारीसँग पनि भेटघाट र छलफल गर्नेछन् । प्रचण्ड चार सदस्यीय टोलीको नेतृत्व गर्दै जापान जान लागेका हुन् । स्वकिय सचिव मल्लसहित छोरी गंगा दाहाल र प्रचण्डका सुरक्षा सहयोगी नारायणप्रसाद ढुंगाना भ्रमण दलमा हुनेछन् । प्रचण्ड हालै भारत भ्रमण सकेर फर्केका थिए । भारत जानुअघि उनले आफू छिट्टै चीन भ्रमणमा पनि जाने बताएका थिए ।