अभिनेत्री मिरूना र फिल्म प्राविधिक ठकुरीविरुद्ध अदालतमा मुद्दा दर्ता

साउन १२, २०७९


फूर्पा साङ्‍मो तामाङले अभिनेत्री मिरूना मगर र फिल्म प्राविधिक पृथ्वी सिंह ठकुरी विरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती र कुटपिट सम्बन्धी मुद्दा दर्ता गराएका छन् । काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार तामाङले कानुन बमोजिम सजायको माग गरेका छन् । फूर्पाले उजुरीमा पटक–पटक पहल गर्दा पनि अभिनेत्री मगरले माफी माग्ने सवालमा बेवास्ता गरेपछि मुद्दा दर्ता गर्न बाध्य भएको भनेका छन् ।

यस्तै फिल्म प्राविधिक ठकुरीले मिरूनालाई उक्साउने काम गरेको भन्दै उनीविरूद्ध पनि कारवाही माग गरेका छन् । गत जेठ १५ गते काठमाडौंको सिभिल मलस्थित कबड्डी ४ फिल्मको प्रमोसनमा पुगेकी मिरूनाले आफूमाथि दुर्व्यवहार गरेको भन्दै फूर्पालाई थप्पड हानेकी थिइन् । साथै उनले प्रहरीमा समेत फूर्पाको अनुचित व्यवहार विरुद्ध उजुरी दिएकी थिइन् ।

तर तामाङरलामा समुदाय सार्वजनिक रुपमै विरोधमा उत्रिएका थिए । उनीहरुले प्रदर्शन भइरहेको मिरुनाको फिल्म कबड्डी ४ रोक्न माग माग गरेका थिए । विरोध बढेपछि फूर्पालाई प्रहरी छाडेको थियो। लगत्तै जेठ १७ गते फिल्मका कलाकार, निर्देशक र लामा गुरुहरु साक्षी राखेर दुवै पक्षबीच माफी माग्ने र दिने सहमति भएको थियो ।