फिल्म क्षेत्रको विकासमा सरकारले सहयोग गरेन : भुवन केसी

साउन १८, २०७९


चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले फिल्म क्षेत्रको विकासका लागि सरकारले सहयोग नगरेको आरोप लगाएका छन् । प्रदर्शकहरुको छाता संस्था नेपाल चलचित्र संघले आयोजना गरेको आफ्नो स्वागतमा गरेको कार्यक्रममा बोल्दै केसीले भने, राज्यले जति सपोर्ट दिनुपर्ने थियो, त्यो पाइराखेका छैनौं, म तपाईंहरुकै लागि बोर्डमा आएको हुँ । चलचित्र उद्योगलाई संसारभर फैलाउने र सम्पूर्ण समस्या समाधान गर्ने प्रतिबद्धता केसीले गरे । उनले अझै पनि फिल्म हल आउनुपर्ने भन्दै आफूले सिनेमा घरलाई मन्दिर भन्ने गरेको बताए ।

मन्दिर नै छैन भने कहाँ पूजा गर्ने ? उनले प्रश्न गरे । कार्यक्रममा संघका पूर्वअध्यक्षहरु नकिम उद्दिन र प्रदीप कुमार उदयले फिल्मको विकासको लागि सरकार गम्भीर नभएको बताए । उनले अध्यक्ष केसीसामु फिल्म क्षेत्रको समस्या र माग प्रस्तुत गरे । गत साता अध्यक्षमा नियुक्त भएयता भुवनको व्यस्तता स्वागत र बधाई थाप्ने कार्यक्रममा बितिरहेको छ । उनले फिल्म क्षेत्रका सबै संघसंस्थालाई बोलाएर गोलमेच कार्यक्रम गर्ने र सुझावको आधारमा अघि बढ्ने समेत बताए ।