प्रतिगमनको खतरा नटरेकोले गठबन्धन आवश्यक : मल्ल

सल्यान २६,साउन / नेकपा माओवादीका स्थायी समिति सदस्य काली बहादुर मल्लले प्रतिगमनको खतरा नटरेकोले गठबन्धन आवश्यक रहेको बताउनु भएको छ। केपी बाहेकको बाम गठबन्धन सुनिश्चित भन्दै उहाँले दोस्रोमा काग्रेससँग गठबन्धन हुने बताउनु भयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर्विरोधका कारण यो बेला मिलेर जानुपर्ने आवश्यकता रहेको बताउँदै उहाँले सङ्घीय र प्रदेश सभाको निर्वाचनमा अग्रगमनकारी शक्तिको जित हासिल गर्न पनि गठबन्धन अत्यावश्यक भएको दाबी गर्नु भयो ।
बिहीबार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति सल्यानको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै नेता मल्लले स्थानीय तहका अन्तर्विरोध र समस्याका कारण गएको निर्वाचनमा सोचेजस्तो नभए पनि अबका दिनमा परिवर्तन बचाउनका लागि गठबन्धन आवश्यक रहेको बताउनु भयो ।
पार्टीका पोलिटव्युरो सदस्य टेक बहादुर बस्नेतले बैठकलाई निर्वाचनको समीक्षा र तयारीको बैठक भएको भन्दै त्यसमा लाग्न निर्देशन गरे । कर्णाली प्रदेश अध्यक्ष विमला केसीले पहिलो पार्टी हुन नसक्नु कमजोरी भएको भन्दै समस्या विर्सेर नयाँ ढंगले अघि बढ्नुपर्ने बताईन । पार्टीका सल्यान जिल्ला समन्वय प्रमुख कृति बहादुर पुनले सहजिकरण गरेको कार्यक्रममा पालिका अध्यक्षहरूले रिपोर्टिङ गरेका थिए ।