राप्ती नदीमा विद्यार्थी सवार डुङ्गा पल्टिँदा २४ जना घाइते

दाङ, २-भदौ।
दाङको राप्ती नदीमा विद्यालय जान लागेका विद्यार्थी सवार डुङ्गा बिहीबार पल्टिएको छ। लमही नगरपालिका–९ तरुलियाबाट राजपुर गाउँपालिका–७ मा रहेको माध्यामिक विद्यालय सिक्टामा पढ्न जान लागेका विद्यार्थी सवार रहेको डुंगा अनियन्त्रित भएर पल्टिएको स्थानीय निरज केसीले जानकारी दिए ।
डुङ्गा पल्टिदा करिब २४ जना विद्यार्थी घाइते भएका छन् । घाइतेहरुको अवस्था भने सामान्य रहेको केसीले जानकारी दिए । ‘‘डुंगाका चालक विनाराम विकले आफ्नो छोरालाई डुङ्गा चलाउन दिएका रहेछन्, सिकारु छोराले डुङ्गालाई नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको देखिन्छ,’ केसीले भने ।
डुङ्गा पल्टिँदा केही विद्यार्थीहरु नदीमा बगेका थिए । करिब ५०० मिटर तल नदीसम्म बगेका उनीहरुलाई माछा मार्ने माझीले उद्धार गरेका थिए । डुंगा पल्टिदा अधिकांश विद्यार्थीका जुत्ता चप्पल, किताब–कापी, झोला बगेको छ । पौडी खेल्न सक्ने जति आफैं बाहिर आउँ सफल भएका थिए भने अन्यलाई उद्दार गरिएको केसीले बताए ।