हलनै नभएको जुम्लामा ‘प्रकाश’को भव्य प्रिमियर : प्रदीपको अभिनय उत्कृष्ट भएको जुम्लाबासीको प्रतिक्रिया

भदौ ०६, २०७९


जुम्ला । आफ्ना अघिल्ला चलचित्रभन्दा बिल्कुलै फरक भुमिकामा प्रस्तुत भएका युवास्टार प्रदीप खड्का अभिनित चलचित्र ‘प्रकाश’को जुम्लामा भव्य प्रिमियर गरिएको छ । फिल्महल समेत नभएको जिल्ला जुम्लामा कुनैपनि चलचित्रले गरेको यो पहिलो प्रिमियर हो। आइतवार साँझ सम्पूर्ण छायांकन जुम्लामै गरिएको चलचित्र ´प्रकाश` त्यहाँका स्थानीय र फिल्म निर्माण टिमले संगै बसेर हेरेका थिए। तिर्खु गाउँमा अवस्थित ऋणमोक्ष माध्यमिक विद्यालयको परिसरमा भएको प्रिमियरमा जुम्लाबासी दर्शकको उल्लेख्य उपस्थिति रहेको थियो।

उक्त प्रिमियरमा काठमाडौंबाट अभिनेता प्रदीप खड्का,लेखक विकास सुवेदी सहितको टिमलाई स्थानीयले बाजागाजासहित भव्य स्वागत गरेका थिए । लेखक सुवेदीका अनुसार चलचित्र हेर्नका लागि लगभग सिंगो जुम्ला नै उर्लिएको थियो । चलचित्र हेरिसकेपछि स्थानियबासीले चलचित्रको निकै राम्रो भएको प्रतिक्रिया दिएका थिए ।

अभिनेता प्रदीप खड्काले विभिन्न अन्तरवार्तामा पनि आफू चलचित्र ‘प्रकाश’बाट नायक नभई कलाकार बन्ने प्रयास गरेको अभिव्यक्ति दिदै आएका छन् । प्रिमियरमा जुम्ला पुगेका प्रदीपले भने,‘मैले सोच्दै नसोचेको माया र प्रतिक्रिया स्थानीयबाट पाउँदा ज्यादै खुसी छु । स्थानीयहरुले हाम्रै भाई छोरा जस्तो देखिएका छौं भनेर प्रतिक्रिया दिँदा मैले गरेको पात्रले सार्थकता पाएको महसुस भएको छ ।’

आगामी शुुक्रबार अर्थात् भाद्र १० गतेबाट देशव्यापी प्रदर्शन हुन लागेको चलचित्रलाई दिनेश राउतको निर्देशन गरेका छन् । वर्षको प्रतिक्षित चलचित्रमा प्रदीपका अलावा दीया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायत स्थानिय कलाकारहरुको अभिनय रहेको छ । चलचित्रलाई महेन्द्र अधिकारीले निर्माण गरेका हुन् ।