स्थानीय तहको निर्वाचनमा खसआर्य समुदायका ४४ प्रतिशत जनप्रतिनिधि निर्वाचित

भदौ ०८, २०७९


काठमाडौँ ८ भदौ । 

गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा प्रमुख र उपप्रमुखमा सबै भन्दा धेरै खसआर्य समुदायका ४४ दशमलब २ प्रतिशत जनप्रतिनिधि निर्वाचित भएका पाइएको छ । दोस्रोमा आदिबासी जनजाती समुदायका ३२ दशमलब ३ प्रतिशत, मधेसी समुदायको तर्फबाट प्रमुख र उपप्रमुखमा १४ दशमलव ३ प्रतिशत उम्मेद्वार निर्वाचित भएका छन् भने थारु समुदायका निर्वाचित जनप्रतिनिधि ३ दशमलव ६ प्रतिशत रहेको निर्वाचन आयोगको तथ्याङ्कले देखाएको छ ।

यस्तै दलित समुदायको १ दशमलव ९ प्रतिशत जनप्रतिनिधि निर्वाचित हुँदा मुस्लिम समुदायका १ दशमलव ३ प्रतिशत रहेको आयोगका सहसचिब गोबिन्द पोखरेलले बताउनुभयो । गत स्थानीय तहको निर्वाचनमा यौनिक तथा लैङ्गिक अल्पसङख्यक समुदायका प्रतिनिधि भने निर्वाचित भएका छैनन । यस्तै गत स्थानीय तहको निर्वाचनमा उम्मेद्वारी दिएका महिलाहरु मध्ये २५ प्रतिशत निर्वाचित भएका आयोगले जनाएको छ । प्रमुखमा २ सय २९ जनाले उम्मेद्वारी दर्ता गराएकोमा १३ जना निर्वाचित भएका छन् । उपप्रमुखमा १ हजार ४३४ जनाको उम्मेद्वारी परेको जम्मा २३३ जना महिला उपप्रमुख निर्वाचित भएका आयोगले जनाएको छ ।

अध्यक्षमा १५५ जनाको उम्मेद्वारी परेकोमा १२ जना महिला निर्वाचित भएका थिए । उपाध्यक्षमा १ हजार ६४३ जनाको उम्मेदवारी दर्ता भएकोमा ३३५ जना मात्रै निर्वाचित भएका आयोगले जनाएको छ ।