खोप लगाउन छुटेकालाई अनिवार्य खोप लगाउन सरकारको आग्रह

काठमाडौँ, ९ भदौ ।
नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या घट्न थालेको छ । देशभर नयाँ सङ्क्रमित थपिनेको सङ्ख्या ४ देखि ६ सयको दरमा झरेको र निको हुने दर बढ्न थालेपछि सक्रिय सङ्क्रमितकासङ्ख्या घट्न थालेको हो । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार २ सय ९८ रहेको छ । भदौ ३ मा देशभर ५ हजार२४ सक्रिय सङ्क्रमित रहेकोमा पछिल्लो समय त्यो सङ्ख्या निरन्तर घट्दै गएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ । यसैबीच, मन्त्रालयले कोरोना सङ्क्रमणको जोखिम कायमै रहेकाले रोगलाई वेवास्ता नगर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा.सञ्जय कुमार ठाकुरले कोरोनाविरुद्धको खोप लगाउनेमा मृत्यु हुने र जटिलता हुने सम्भावना न्यून हुने गरेकाले अनिवार्य कोरोनाविरुद्धको खोप लगाउन आग्रह गर्नुभयो । प्रवक्ता ठाकुरले भदौ ५ गतेबाट ११ गतेसम्म ५ वर्षदेखि १२ वर्ष मुनिका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइरहेको हुँदा अनिवार्य रुपमा आफ्ना बालबालिकालकाई खोप लगाउन आग्रह गर्नुभयो । उहाँले कोरोनाविरुद्धको खोप लगाउन छुटेकालाई पनि सम्बन्धित वडाका स्वास्थ्य संस्थामा गएर खोप लगाउन पनि भन्नुभयो । मन्त्रालयका अनुसार हालसम्म देशभर ७३ प्रतिशतले पूर्णमात्र खोप लगाइसकेका छन् भने ७५ प्रतिशले एक मात्रा खोप लगाइसकेका छन् ।