कर्णालीका पालिकामा सबैको लागि दिगो खानेपानी र सरसफाइ आयोजना सञ्चालन हुने

सल्यान, ९ भदौ ।
सल्यानका स्थानीय तहहरुमा सबैको लागि दिगो खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाबारे परिचयात्मक कार्यक्रम गरिएको छ । उक्त आयोजना र नेपाल स्वास्थ्यका लागि पानी (नेवा) बाट खटिएका परामर्शदाताहरुरले परिचयात्मक कार्यशालाको सहजिकरण गरेका थिए । जिल्लाका दश स्थानीय तहमध्ये ९ स्थानीय तहमा आयोजनाबारे अभिमुखिकरण गरिने वास म्यानेजर हरि प्रसाद जोशीले जानकारी दिए । सल्यानका त्रिवेणी, छत्रेश्वरी, सिद्धकुमाख र कपुरकोट गाउँपालिकामा दिगो खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाबारे कार्यशाला सम्पन्न गरिएको उनले बताए ।
विहिबार कपुरकोट गाउँपालिकामा भएको कार्यक्रममा कार्यपालिका सदस्यहरुले खानेपानी, सरसफाई तथा स्वच्छता योजना (वास योजना) निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । जस अनुसार गाउँपालिकाले वास योजना निर्माणका लागि पाँच लाख रुपैयाँ बजेटको पनि सुनिश्चितता गरेको गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले जनाए । यस्तै गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले पर्याप्त रुपमा सुरक्षीत खानेपानी, सरसफाई र स्वच्छता सेवा उपलब्ध गराउनका लागि गाउँपालिकाको अभियानलाई वृहत बनाएर लैजानुपर्ने आवश्यकता औँल्याए ।
स्थानीय तहमा खानेपानी तथा सरसफाई आयोजना सञ्चालनका लागि कर्णाली प्रदेशका पालिकाहरुलाई आशय पत्र पेश गर्न संघीय खानेपानी मन्त्रालयले आह्वान गर्ने बताइएको छ । तर पालिकाहरुले वास प्लान तयार गरेको, स्थानिय तह संस्थागत क्षमता स्वमुल्यांकन र जलबायु परिबर्तनका कारण उच्च संकटासन्न अवस्था बिश्लेषण गरेको हुनुपर्ने आयोजनाका परामर्शदाता अरुण कुमार श्रेष्ठले बताए ।
आयोजना सञ्चालनका लागि कर्णालीमा लक्षित ४२ पालिका रहेको र पहिलो चरणमा आठ वटा पालिका तथा थप ३४ पालिका गरि ४ं२ वटा पालिकाको बेश लाईन सर्भे कार्य सम्पन्न भएको जानकारी गराउदै आयोजनाका छत्र चौधरीले ३४ वटा पालिकाबाट आशयपत्र संकलन गरिने जानकारी गराए ।
कार्यशालामा आयोजनाका विषयहरु, काम गर्ने शैली, पालिकाको भुमिका, आयोजनाको बजेट, पालिका चयनका लागि आयोजनाले अवलम्बन गर्ने प्रक्रियाहरुका बारे जानकारी गराइएको थियो । कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरुण दाहाल, कार्यपालिका सदस्यहरु, नेपाल रेडक्रस कपुरकोट गाउँपालिकाका सभापति भद्रसिंह बुढा लगाएतको पनि सहभागिता थियो । कार्यक्रमको संचालन पत्रकार महासंघ सल्यानका उपाध्यक्ष शंकर केसीले गरेका थिए ।