नेपाल प्रहरी र सशस्त्र प्रहरीका कर्मचारीले चुनावअघि राजीनामा दिन नपाउने
भदौ १२, २०७९

काठमाडौँ, १२ भदौ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीका कर्मचारीले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न नहुँदासम्म स्वेच्छिक राजीनामा दिन नपाउने भएका छन् । दुवै सुरक्षा निकायले सबै दर्जाका कर्मचारीलाई निर्वाचन नसकिँदासम्म स्वेच्छिक राजीनामा नदिन निर्देशन जारी गरेका छन् ।नेपाल प्रहरीका प्रवक्ता टेकप्रसाद राईले चुनावी सुरक्षामा असर पुग्ने भएकाले चुनावसम्मका लागि त्यसलाई रोक लगाइएको जानकारी दिनुभयो । यसैगरी, सशस्त्र प्रहरी प्रधान कार्यालयले हेडक्वार्टरसहित सातै प्रदेश र उपत्यकाका बाहिनी, गण, शिक्षालय÷तालिम केन्द्र, गुल्म तथा बोर्डर आउट पोष्ट (वीओपी)लाई मौखिक निर्देशन दिँदै कसैलाई पनि चुनावसम्म राजीनामा दिएर जान रोक लगाएको छ । पछिल्लो ५ वर्षमा मात्रै प्रहरी र सशस्त्रका करिब १७ हजार अधिकृत तथा जवानले राजीनामा दिएका छन् ।