पूजालाई फिल्मभन्दा सुदर्शनमाथि भरोसा !

भदौ १३, २०७९


फिल्म ‘मधुमास’ रिलिजसँगै सुरु भएको पूजा शर्मा र सुदर्शन थापाको दोस्ती अहिले पनि निरन्तर छ । सुदर्शन निर्देशित फिल्म ‘प्रेमगीत’ मा प्रमुख भूमिका पाएपछि त पूजाले पछाडि फर्केर हेर्नु परेन । यतिबेला भने पूजाले आफूलाई कन्टेन्टभन्दा सुदर्शनप्रति विश्वास रहेको टिप्पणी गरेकी छन् । पछिल्लो सहकार्य रहेको फिल्म ‘सम्हालिन्छ कहिले मन’ को पत्रकार सम्मेलनमा पूजाले आफूलाई सुदर्शनप्रति भरोसा रहेको बताइन् । किन त ? उनी भन्छिन् सुदर्शन दाइ आफैंमा कथा हो । उहाँप्रति मलाई विश्वास लाग्छ ।

उहाँले निर्देशन गर्ने फिल्मको कथाभन्दा मलाई उहाँप्रति बढी विश्वास र भरोसा लाग्छ ।’ सुदर्शनले दिने कन्टेन्टमै आफूलाई भरोसा लाग्ने र कन्टेन्ट राम्रो भए मात्र फिल्म राम्रो बन्ने उनको भनाइ छ । मलाई अहिले आएर लाग्न थालेको छ । स्टारभन्दा कन्टेन्ट महत्वपूर्ण हो । त्यो कन्टेन्ट दिने कुरामा सुदर्शन दाइप्रति भरोसा छ, पूजाले भनिन् । पूजाले यसो भनिरहँदा सुदर्शन भने मुस्कुराइरहेका थिए । पूजा र सुदर्शनको सहकार्य रहेको फिल्म ‘सम्हालिन्छ कहिले मन’ भदौ १७ गतेदेखि रिलिज तयारीमा छ । यो फिल्ममा पूजासहित आकाश श्रेष्ठ र सोनम तोप्देनको प्रमुख भूमिका छ ।