हिन्दी र नेपाली भर्सनमा बहुप्रतिक्षित ‘प्रेमगीत ३’ ट्रेलर सार्वजनिक
काठमाडौं । प्रदीप स्टारर पहिलो नेपाली-इण्डो चलचित्र ‘प्रेमगीत ३’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । जी म्युजिकको युट्युब च्यानलबाट हिन्दी र ओएसाअर युट्युव च्यानलबाट नेपाली भाषामा सार्वजनिक २ मिनेट लामो ट्रेलरमा लडाइँ र प्रेमका दुई आयामलाई चित्रण गरिएको छ । यसअघि टिजरपनि दुवै भाषामा सार्वजनिक गरिएको थियो ।
सार्वजनिक ट्रेलरमा नायक प्रदीप खड्का र नवअभिनेत्री क्रिस्टिना गुरुङ मुख्य पात्रका रूपमा फिचर्ड छन् । ट्रेलरबाट चलचित्रको कथावस्तुलाई केही हदसम्म देखाउन खोजिएको छ । छोराको भूमिकामा प्रदीप खड्का र मनिष राउत देखिएका छन् भने शिव श्रेष्ठले राजाको भूमिका निर्वाह गरेका छन् ।
राजेश श्रेष्ठले छायांकन गरेको चलचित्रलाई स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गरेको चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, मनिष राउत, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, जीवन भट्टराई, योगिशा खत्री, राज थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्र यही असोज ७ गतेबाट नेपाल र भारतमा एकसाथ रिलिज हुनेछ ।