दंगिशरण गाउँपालिकाले एक वर्षमा एक सय बिरामीको निःशुल्क आँखाको अप्रेसन गरिदिने

भदौ १९, २०७९


दाङ १९, दंगिसरण गाउँपालिकाले आँखाका बिरामीहरूलाई निःशुल्क अप्रेसन गरिदिने भएको छ । अन्धोपन न्यूनिकरण कार्यक्रम अन्तर्गत नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पताल र गाउँपालिका बिच निःशुल्क मोतियाबिन्दुको अप्रेसनका लागि साझेदारी पत्रमा हस्ताक्षर भएको छ । उज्यालो अभियान अन्तर्गत निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया कार्यक्रमका लागि गाउँपालिका र अस्पताल बिच सम्झौता भएको हो । गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८० मा एक सय जनाको मोतियाबिन्दुको शल्यक्रिया गर्ने सम्झौतामा उल्लेख भएको सूचना अधिकृत बालाराम खड्काले बताए ।

गाउँपालिकाका अध्यक्ष शम्भु गिरी, प्रमुख प्रशासकीय अधिकृत अमर बहादुर वलि र राप्ती आँखा अस्पतालका प्रशासक किरण पौडेल बिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले गाउँपालिका भित्र कुनै पनि ज्येष्ठ नागरिकहरू अब पैसाको अभावले आँखा नदेख्ने समस्या बाट बञ्चित हुन नपर्ने बताए । उनले आँखाको अप्रेसन गर्नुपर्ने बिरामीहरूलाई गाउँमै शिविर आयोजना गरि चेकजाँच गरी निःशुल्क अप्रेसन हुने बताए । कोही आँखाका बिरामीहरू आर्थिक अभावले घरमा नै उपचार नपाएर बस्नु भएको छ भने आउनु होस् गाउँपालिकाले निःशुल्क अप्रेसन गर्ने छ, उनले भने । अन्धोपन न्यूनिकरण गर्नको लागि गाउँपालिकामा रहेका नागरिकलाई उज्यालो प्रदान गर्न उज्यालो आखा कार्यक्रम नाम दिएर कार्यक्रम लागू गरिएको उनको भनाइ छ ।

निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया कार्यक्रम अन्तर्गत गाउँपालिका र अस्पतालले साझेदारी गरि गाउँपालिका भित्रका आँखाका बिरामीहरूको उपचार तथा अप्रेसन निःशुल्क हुने छ । गाउँपालिकाको सिफारिस लिएर आएमा मोतिविन्दुका बिरामीहरूले अप्रेसन गर्न पाउने अस्पतालले जनाएको छ ।