अछाम पहिरो अपडेट- १७ जनाको मृत्यु, ११ जना घाइते
असोज ०१, २०७९
अछाम, १ असोज ।
अछाममा पहिरोमा परि ज्यान गुमाउनेको सङ्ख्या १७ पुगेको छ भने ११ जना घाइते भएका छन् । अहिलेसम्म तुर्माखाँद गाउँपालिका–५ मा ४, कमलबजार नगरपालिका–६ मा ७ र वडा नम्बर ८ मा ५ जनाको शव भेटिएको छ ।
जिल्ला प्रशासन कार्यालय अछामका अनुसार यी वडामा तीन जना पहिरोमा परि बेपत्ता छन् । ढकारी गाउँपालिका–६ मा एक जनाको शव भेटिएको छ भने एक बेपत्ता छन् । घाइतेहरुको उद्धार गरी नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि सुर्खेत जिल्ला अस्पताल लगिएको अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिनुभयो ।यस्तै सुदूरपश्चिम प्रदेश
प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भोलाबहादुर रावलले पहिरोमा परि ज्यान गुमाएकाको शव व्यवस्थापनदेखि घाइतेको उद्धार र बेपत्ताको खोजीका लागि प्रहरी परिचालन गरिएको बताउनुभयो ।