दाङको ३ ठाउँमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने
तुलसीपुर ५-असोज।
प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि निर्वाचन आयोगले जिल्ला सदरमुकाम र सम्बन्धित निर्वाचन क्षेत्रभित्रका पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने निर्णय गरेको छ ।
जसअन्र्तगत दाङमा तीन वटा निर्वाचन क्षेत्र रहेका छन् । जसमध्यबाट क्षेत्र नं। १ को लमही नगरपालिका, क्षेत्र २ नं. को घोराही र क्षेत्र नं. ३ को तुलसीपुर उपमहानगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने छ ।
एक मात्र प्रतिनिधिसभा सदस्य निर्वाचित हुने जिल्लाको सदरमुकाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ । एक मात्र प्रतिनिधिसभा सदस्य निर्वाचित हुने ३५ वटा जिल्ला रहेका छन् ।
त्यस्तै दुई वा त्यो भन्दा धेरै प्रतिनिधिसभा सदस्य निर्वाचित हुने जिल्लामा जिल्ला सदरमुकाम र बाहिर पनि कार्यालय स्थापना हुनेछ । दुई जना प्रतिनिधिसभा सदस्य निर्वाचित हुने २१ जिल्ला, तीन जना प्रतिनिधिसभा सदस्य निर्वाचित हुने ७ वटा, चार जना निर्वाचित हुने ९ जिल्ला, पाँच जना निर्वाचित हुने तीन जिल्ला र ६ वा त्यो भन्दा माथि निर्वाचित हुने मोरङ र काठमाण्डौ गरी दुई जिल्ला रहेका छन् ।
सबैभन्दा धेरै काठमाण्डौमा १० वटा निर्वाचन कार्यालय स्थापना हुनेछन् । यसअघिका चुनावमा जिल्लाको सदरमुकाममा नै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै आएकोमा अहिले सदरमुकामबाहिर पनि खोल्ने निर्णय भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।