नियन्त्रित भूभाग रुसमा गाभ्ने उद्देश्यले जनमतसङ्ग्रह गराउन रुस सक्रिय

असोज ०८, २०७९


बीबीसी, ८ असोज ।

रुसले आफ्नो नियन्त्रणमा लिएका युक्रेनी भूभागमा सुरु गरेको “जनमतसङ्ग्रह“ का लागि मत सङ्कलन गर्न सशस्त्र सैनिकहरू घरघरमा जान थालेको युक्रेनी नागरिकहरूले बताएका छन्। “तपाईँले मुखैले उत्तर दिनुपर्छ र सैनिकहरूले त्यसलाई पानामा चिन्न लगाएर राख्छन्,“ एनर्होदरबाट एक महिलाले भनिन्।  दक्षिणी खेअर्सनमा रुसी सुरक्षाकर्मीहरूले मतपेटिका लिएर सहरको मध्यभागमा मत सङ्कलन गर्न थालेका छन्।

रुसी सरकारी सञ्चारमाध्यमहरूका अनुसार घरदैलो मतदान “सुरक्षा“का कारण गरिएको हो  ।  “अन्य दिनहरूमा समुदाय र घरदैलो कार्यक्रमका रूपमा मतदान सञ्चालन हुनेछ।“ मेलिटोपोलमा रहेकी एक महिलाले बीबीसीलाई बताएअनुसार दुई रुसी सैनिकसँग आएर दुई स्थानीय “सहयोगीहरू“ले उनका अभिभावकलाई उनीहरूको घरमा आएर मतपत्र दिएर हस्ताक्षर गर्न भनेका थिए। मतपेटिकालाई सशस्त्र फौजले पहरेदारी गरेका छन् ।

ती महिलाका अनुसार प्रत्येक व्यक्तिका लागि छुट्टाछुट्टै नभईकन पूरै घरधुरीका लागि एउटा मतपत्र राखिएको छ। मतदान गराउन सशस्त्र सैनिक परिचालन गरिनुले चुनाव स्वतन्त्र र निष्पक्ष हुने भन्ने मस्कोको दाबीसँग विरोधाभास देखाउँछ।

रुसी लक्ष्य
विज्ञहरूका भनाइमा पाँच दिनका लागि तय गरिएको स्वघोषित जनमतसङ्ग्रहले रुसलाई अवैधानिक तरिकाले चारवटा अधीनस्थ क्षेत्र वा केही भाग नियन्त्रणमा रहेका युक्रेनी भूभागलाई आफ्नो दाबी गर्ने बाटो दिनेछ।  अर्को शब्दमा रुसी अतिक्रमणपछिको सात महिनामा यो आफ्नोमा विलय गर्ने छद्म मतदान हुनेछ।  यसरी “गाभ्ने काम“ले अन्तर्राष्ट्रिय मान्यता पाउनेछैन तर त्यसले गर्दा रुसले आफ्नो भूभागमा पश्चिमा देशहरूले युक्रेनलाई दिएका अस्त्र प्रयोग गरेर आक्रमण भएको दाबी गर्ने अवस्था सिर्जना हुनसक्छ।

अमेरिकी राष्ट्रपति जो बाइडनले ती जनमतसङ्ग्रहलाई “छद्म“ को सङ्ज्ञा दिँदै जबरजस्ती केही युक्रेनी भूभाग गाभ्नका लागि “मिथ्या बहाना“ प्रस्तुत गरिएको बताए।  बाइडनले त्यसलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन समेत भने। “अमेरिकाले युक्रेनी भूभागलाई युक्रेनी हिस्साबाहेक अन्य केही रूपमा मान्यता दिनेछैन,“ उनको भनाइ छ।