३२ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाईँदै

असोज १५, २०७९


काठमाडौ, १५ असोज । 

आज ३२ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यस वर्ष ‘ज्येष्ठ नागरिक उत्थानशिलताः बदलिँदो विश्वका लागि अपरिहार्यता’ नाराका साथ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन लागिएको हो । संयुक्त राष्ट्रसङ्घले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ तारिखलाई ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’का रूपमा मनाउने प्रस्ताव पारित गरेपश्चात विश्वभरि नै आजको दिनलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने गरिएको छ ।

दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकको सम्मानपूर्ण जीवन सुनिश्चित गर्नु सबैको कर्तव्य रहेको बताउनुभएको छ । उहाँले हाम्रो सांस्कृतिक मूल्य, मान्यता र परम्परा ‘मातृदेवो भवः, पितृ देवो भवः’ बाट निर्देशित रहेको उल्लेख गर्नुभएको छ । यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिक दिवसको अवसरमा शुभकामना सन्देश दिनुहुँदै ज्येष्ठ नागरिकप्रति सम्मान व्यक्त गर्ने र समाजमा ज्येष्ठ नागरिकलाई सुरक्षित तथा सम्मानपूर्ण जीवनयापन गर्ने वातावरण सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ । सरकारले ज्येष्ठ नागरिकको कल्याण र सुरक्षाका लागि विभिन्न व्यवस्था गर्नुका साथै राज्यबाट प्रदान गरिने स्वास्थ्यलगायत विभिन्न सेवा तथा सुविधामा विभिन्न सहुलियत प्रदान गर्दै आएको उहाँले सन्देशमा उल्लेख गरिएको छ ।