दशैंको दिन देशभर पानी पर्ने

असोज १५, २०७९


काठमाडौं, १५ असोज ।
यस वर्षको दसैँ ‘हिले’ हुने अनुमान गरिएको छ। पछिल्ला दिनमा मनसुन निष्क्रिय बन्दै गएपछि बाहिरिने अपेक्षा गरिएको थियो। तर, बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण दसैँमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार न्यूनचापीय रेखा उत्तर–पश्चिमतर्फ सरिरहेकाले दसैँको दिन गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा भीषण वर्षाको सम्भावना छ।

महाशाखाले शुक्रबार ‘दशैंका लागि विशेष मनसुन बुलेटिन’ जारी गर्दै १८ असोज अर्थात् नवमीबाट नेपालमा पनि न्यूनचापीय क्षेत्रको प्रभावका कारण वर्षा सक्रिय हुने सम्भावना देखिएको जनाएको हो।

नवमीमा प्रदेश १, मधेस, बागमती र गण्डकीका केही भाग र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

विजयादशमीका दिन पनि देशका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। विजयादशमीमा गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थान भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ।

एकादशीमा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।