६ महिनामा जम्मा ४ फिल्म हिट

असोज २६, २०७९


नेपाली फिल्मको व्यवसाय अझैपनि फस्टाउन सकेको देखिँदैन । कोरोना अगाडिका वर्षमा फर्किने हो भने महिनामै दुई वा सो भन्दा माथिका फिल्मले लगानी सुरक्षित गरेको रेकर्ड देख्न सकिन्छ । अहिले भने सो अवस्था रहेको पाइन्न ।
यो वर्ष अर्थात वैशाखदेखि असोज २१ गतेसम्म रिलिज भएको फिल्मको सूची निकाल्ने हो भने लामै हुन आउँछ । तर, व्यवसाय गरेको फिल्मको संख्या भने न्युन रहेको छ ।

यो ६ महिनामा करिब ३ दर्जन फिल्म रिलिज भएका छन् । तर लगानी सुरक्षित गर्नेमा भने भर्खर रिलिज भएको फिल्म ‘२ नम्बरी’ छोडेर हेर्ने हो जम्मा ४ फिल्म सफल भएको देखिन्छ । ‘२ नम्बरी’ अहिले पनि प्रदर्शनरत छ । फिल्मको लगानी सुरक्षित हुने तरखरमा रहेको निर्माता बताउँछन् ।

वैशाखयता लगानी सुरक्षित गर्ने फिल्ममा ‘कबड्डी ४’, ‘ए मेरो हजुर ४’, ‘झिङ्गे दाउ’ र ‘प्रेम गीत ३’ रहेका छन् । ‘ए मेरो हजुर ४’ गत बैशाखामा रिलिज भएको फिल्म हो । ‘केजीएफ २’ सँग भिडेको यो फिल्मले लगानी सुरक्षित गर्न सफल भएको देखिन्छ । फिल्ममा अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहेको थियो ।

‘कबड्डी ४’ भने जेठमा रिलिज भएको फिल्म हो । २२ करोडमाथिको व्यवसाय गरेको दाबी गरिएको फिल्म रामबाबु गुरुङले निर्देशन गरेका हुन् । फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरीलगायतको अभिनय रहेको थियो ।

त्यस्तै ‘झिङ्गे दाउ’ भने भदौमा रिलिज भएको हो । मुकुन भुषाल, केकी अधिकारी, आँचल शर्मा लगायतका कलाकारको अभिनय फिल्ममा छ । फिल्म ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् । असोजको पहिलो सात रिलिज भएको फिल्म ‘प्रेमगीत ३’ ले पनि लगानी सुरक्षित गर्न सफल भयो । विश्वभर रिलिज भएको फिल्म हिन्दी र नेपाली दुई भाषामा रिलिज भएको हो । फिल्मको हिन्दी र नेपाली दुबैले राम्रो व्यवसाय गरेको छ । सन्तोष सेन र छेतेन गुरुङका संयुक्त निर्देशन रहेको फिल्ममा प्रदीप खड्का र कृष्टिना गुरुङ मुख्य भूमिकामा छन् ।