भुमिहिन,सुकुम्बासीको समस्या समाधान गर्छौ : चौधरी

कार्तिक ०५, २०७९


तुलसीपुर, ५ कार्तिक । लुम्बिनी प्रदेशका पर्यटन ग्रामिण तथा सहरी विकास मन्त्री डिल्ली बहादुर चौधरीले मंसिर ४ को प्रदेश र प्रतिनिधि सभाको निर्वाचन लगत्तै भूमिहिन सुकुमवासीलाई लालपुर्जा वितरण गरिने बताएका छन् ।

आगामी निर्वाचनमा दाङको निर्वाचन क्षेत्र नम्बर ३ को १ मा प्रदेश सभा सदस्यका उमेदवार समेत रहेका मन्त्री चौधरीले भूमिहिन सुकुमवासीको समस्या समाधानमा सरकार गम्भिर रहेको बताए । ‘भूमिहिन सुकुमवासीको समस्या समाधानमा प्रदेश सरकार गम्भिर छ ।’ उनले भने-‘सुकुमवासीको समाधानका लागि हामीहरु निर्वाचन लगत्तै लाग्छौँ ।’

गठबन्धन सरकारले कुराभन्दा काम बढी गर्ने उनले दावि गरे । ‘हामी पानी जहाज चलाउने, मेट्रो बस चलाउने कुरा गर्दैनौँ ।’ उनले भने-‘ठुला ठुला सपना बाँड्नुभन्दा पनि नागरिकका स-साना समस्या समाधान गर्ने कुरामा हामी प्रतिवद्ध छौँ ।

चुनावी अभियानका लागि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १५ पुगेका उनले वडामा आवश्यक विकासका लागि आफुले पहल गरिरहेको बताए । ‘यसअघि एमालेको सरकार थियो, उसले हाम्रा कुरा सुन्दैन थियो, अहिले गठबन्धन सरकार भएकाले नागरिकका समस्या समाधान गर्न सजिलो छ ।’ उनले डुरुवा र कोठरी जोड्ने पुल निर्माणमा ढिलाई भएकोमा दुख व्यक्त गरे ।

‘मैले यो पुल निर्माणका लागि आवश्यक समन्वय गरेको छु । उनले भने-‘निर्माण पक्षबाट आउदो शनिबारदेखि निर्माण कार्यलाई गति दिने प्रतिवद्धता गरिएको छ ।

यस्तै नेपाली कांग्रेस क्षेत्र नम्बर ३ को १ का सभापति देवेन्द्र रिजालले क्षेत्र नम्बर ३ को विकासका लागि गठबन्धन दलका उमेदवारलाई जिताउनुपर्ने बताए । ‘साझा गठबन्धनका उमेदवार जितेर गएपछि फर्केर आउँदैनन् भन्नेमा नमान्नुहोस । उनले भने-‘निर्वाचनमा जित हासिल गरेर गाउँ नफर्किने जनप्रतिनिधिलाई गठबन्धन भित्रैको दलले खबरदारी गर्न सक्छ ।