आजबाट तिहारसुरु, मिठा खानेकुरा खुवाएर आज काग तिहार मनाईदै

काठमाडौ, ६ कात्तिक ।
आजदेखी तिहारसुरु भएको छ । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने यस पर्वलाई यमपञ्चक पनि भनिन्छ । आजको दिन कागलाई सन्देशवाहक पक्षीका रूपमा विभिन्न परिकार तथा मिठाइ राखिदिएर बोलाउने गरिन्छ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भन्दै कागलाई यमदूतका रूपमा मान्ने गरिन्छ । कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठोखान दिएर खुसी पार्ने चलन छ । लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलन समेत रहेको छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ ।
यस्तै आज धन्वन्तरी जयन्ती मनाइँदै छ ।कात्तिक त्रयोदशीका दिन आयुर्वेदका प्रणेता धन्वन्तरीको उत्पत्ति भएको दिनको सम्झनामा धन्वन्तरी जयन्ती मनाउने गरिन्छ । आयुर्वेद चिकित्साशास्त्रका प्रवर्तक धन्वन्तरीको जयन्तीका साथै आज देशभर राष्ट्रिय आरोग्य दिवस समेत मनाइँदै छ ।धन्वन्तरीलाई भगवान विष्णुका २४ वटा अवतारमध्ये एक अवतार मानिन्छ । धन्वन्तरीको जन्मजयन्तीको अवसरमा आज काठमाण्डौको वैद्यखानामा विशेष पूजा हुन्छ।