चखौरा सङ्ग्रहालयको भ्रष्टाचार छानविन गर्छाै : घनश्याम पाण्डे

तुलसीपुर ।
दाङ क्षेत्र नम्बर ३ क प्रदेश सभा सदस्यका उम्मेदवार घनश्याम पाण्डेले चखौरा सङ्ग्रहालयमा भएको भ्रष्टाचारको छानविन गर्ने बताएका छन् । राज्यको सम्पत्ति दोहन गरेर व्यक्तिगत फाइदाका लागि लुम्बिनी प्रदेशका पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्री डिल्ली चौधरीले चखौरामा सङ्ग्राहालय बनाएको भन्दै त्यसको छानविन गरेर दोषीलाई कारबाही गर्ने उनले बताए । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ मा भएको कोण सभामा बोल्दै पाण्डेले सङ्ग्रहालयको खर्च र आम्दानी सार्वजनिक गर्नका लागि चुनौति समेत दिएका छन ।
थारु जातिको इतिहासलाई नामेट पारेर शक्तिको आडमा व्यक्तिगत तवरले डिल्ली चौधरीले चखौरामा संग्रहालय सञ्चालन गरेको भन्दै पाण्डेले संग्रहालयलाई छानविनको दायरामा ल्याउने कुरामा जोड दिएका छन् ।
“ तुलसीपुरको सुकौरामा रहेको सुकौराकोट दरबारको इतिहासलाई अपमान गरेर व्यक्तिगत फाइदाका लागि डिल्ली चौधरीले चखौरामा सङ्ग्रहालय बनाएका छन् , यसले थारूजातिको इतिहासलाई अपहेलना गरेको छ ।” पाण्डेले भने । दंगिशरण राजा दाङको गौरव भएको बताउँदै पाण्डेले आफ्नो पालमा दरबार भएकै ठाउँमा तत्तकालिन मुख्यमन्त्री शंकर पोखरेललाई भेटगरी २५ लाख बजेट ल्याएको उनले बताए । उक्त बजेटबाट त्यहाँ चारु राजाको मूर्ति र पार्क निर्माण भएको उनले बताए । “थारू सांस्कृतिक नाममा बजेट ल्याउने र हिनामिना गर्नेहरूको एक एक हिसाब हुन्छ , संस्कृतिका लागि राज्य दोहन गर्ने छुट कसैलाई पनि छैन ।” उनले भने । बेस कार्यालय भएको ठाउँमा संग्रहालयभर बनाउनुको औचित्य पुष्टि गर्नका लागि उनले चुनौति समेत दिए । “प्रदेश मन्त्रीका रुपमा चौधरीले शक्तिको दुरुपयोग गरेर दाङ जिल्लामा थारू समुदायका लागि आएको बजेट चखौरामा मात्रै प्रयोग गरेका छन्, यसको एक एक हिसाब जनताले निर्वाचनमा दिनुपर्दछ” पाण्डेले भने ।