राजेश हमाललाई लिएर फिल्म बनाउने योजनामा निर्देशक प्रदीप भट्टराई

कार्तिक ३०, २०७९


नेपाली फिल्ममा सफल निर्देशकको चर्चा हुँदा छुट्नै नसक्ने नाम हो, प्रदीप भट्टराई । पहिलो फिल्म ‘जात्रा’ बाटै आफूलाई सफल र अब्बल निर्देशकको रुपमा स्थापित गरेका उनले ‘शत्रु गते’ र ‘जात्रै जात्रा’ बाट हिटमा ह्याट्रिक गरे । यतिबेला उनी निर्देशित चौंथो फिल्म ‘महापुरुष’ प्रदर्शनरत छ र यो पनि सुपरहिट भइसकेको छ । लगातार चार सफल फिल्म दिने निर्देशक नेपालमा कमै छन् ।

अब भट्टराई सफल फिल्म ‘जात्रा’ को तेस्रो सिक्वेलको तयारीमा छन् । ‘महाजात्रा’ नाम राखिएको फिल्ममा अभिनेता विपिन कार्की दोहोरिने लगभग निश्चित छ भने निर्देशक भट्टराईले अभिनेता राजेश हमाललाई पनि लिने इच्छा देखाएका छन् । सोमवार फिल्म ‘महापुरुष’ हेर्न पुगेका हमालसँग फिल्ममा काम गर्ने रहर रहेको बताउँदै उनले अब बनाउन लागेको फिल्म अफर गर्ने संकेत गरे ।

प्रदीपले भने, राजेश दाईसँग फिल्म गर्ने रहर कसलाई छैन होला र रु दाईलाई चुनौतीपूर्ण भूमिकामा हामीले सोचिरहेका पनि छौं । दाईले मानिदिनुभयो भने त्यो अबकै प्रोजेक्टमा पनि हुनसक्छ । हामी त त्यसैको तयारी पनि गर्दैछौं । भट्टराईले अबको प्रोजेक्ट भनेर ‘महाजात्रा’तर्फ इंकित गरेको बुझ्न सकिन्छ । हमालले पनि आफूलाई सुहाउँदो भूमिका भए काम गर्न तयार रहेको बताए ।

स्रोतका अनुसार पछिल्लो पुस्तामा हमालको मनपर्ने निर्देशकमा प्रदीप पनि पर्छन् । ‘जात्रा’ हेरेपछि उनी भट्टराईको निर्देशकिय क्षमता र पटकथा लेखन शैलीबाट प्रभावित भएका थिए । ‘महापुरुष’ ले पनि मन जितेपछि उनी प्रदीपसँग फिल्ममा सहकार्य गर्न इच्छुक रहेको स्रोत बताउँछ । हमाल र प्रदीपबीच फिल्ममा सहकार्य हुन सकेको खण्डमा दर्शकलाई पनि त्यो रुचिकर हुनेछ ।