बाँकेमा बम बनाउँदै गर्दा विस्फोट हुँदा दुई जना घाइते

मङि्सर ०१, २०७९


बाँके, १ मंसिर ।
बाँकेको नेपालगञ्जमा बम बनाउँदै गर्दा विस्फोट भएको छ । नेपालगञ्ज उपमहानगरपालिका-१०, भृकुटीनगरमा डिल्ली क्षेत्रीको कोठामा बम विस्फोट भएको हो ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको अखिल क्रान्तिकारी बाँकेका जिल्ला अध्यक्ष क्षेत्रीको कोठामा हिजो बेलुका बम बनाउने क्रममा विस्फोट भएको बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

उनका अनुसार कोठाभित्र बम बनाउँदै गर्दा प्रहरीले थाहा पाएपछि भाग्न खोज्दा प्रेसर कुकर बम विस्फोट भएको थियो । विस्फोटबाट क्षेत्री र धर्म बडुवाल घाइते भएका छन् । बडुवालको अवस्था गम्भीर रहेको छ । घाइते दुवैजनाको भेरी अस्पतालमा उपचार भइरहेको छ ।

कोठाभित्र भेटिएको दुईवटा बममध्ये एउटा विस्फोट भएको र अर्को नेपाली सेनाको टोलीले निष्क्रिय बनाएको प्रहरी उपरीक्षक अधिकारीले बताए । भाडामा बस्दै आएका विप्लवका कार्यकर्ताले बम बनाइरहेका र थप अनुसन्धान भइरहेको बाँकेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।

यसअघि मंगलबार दिउँसो भोजपुरमा बम विस्फोट भएको थियो । यसको जिम्मा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले लिएको थियो । विप्लव नेतृत्वको नेकपाले चुनाव बहिस्कार गर्ने निर्णय गरेको छ ।