के ‘साङ्लो २’ बनाउँदैछन : विराज भट्ट

मङि्सर १६, २०७९


नेपाली फिल्ममा आफ्नो रजगज रहँदै सुपरस्टार विराज भट्ट भोजपुरी हानिएका थिए । त्यहाँ उनले छोटो समयमै आफूलाई स्थापित गरे । सय बढी भोजपुरी फिल्ममा अभिनय गरिसकेका उनले रोज राणाको ‘जय पशुराम’ बाट नेपाली फिल्ममा कमब्याक गरेका थिए । यसपछि उनले आफ्नै डेब्यू निर्देशनमा पछिल्लो पटक फिल्म ‘साङ्लो’ बनाए । फिल्ममा उनकै निर्माण र अभिनय थियो ।

एक्सनका पारखीलाई ‘साङ्लो’ ले केही हदसम्म तिर्खा मेटायो । फिल्मले व्यापार पनि राम्रै गरेको थियो । तर, यसपछि विराज पुन : भोजपुरी फर्किए । अब भने उनले ‘साङ्लो २’ निर्माण गर्न लागेको चर्चा चलेको छ । केही हप्तादेखि काठमाडौंमा रहेका उनले यसै साता अभिनेता राजेश हमालसँग भेट गरेका छन् । उनले हमालसँग फिल्ममा सहकार्यको प्रस्ताव राखेको निकट स्रोत बताउँछ ।

तर, विराजले ‘साङ्लो २’ ढिलो-चाँडो निर्माण हुने भए पनि राजेश हमालसँग फिल्मको बारेमा छलफल गर्न भेट नभएको बताएका छन् । फिल्म त बनाइएला तर कहिले बनाइन्छ मिति तोकिसकेको छैन, उनले हमालसँग भेटको कारणबारे भने, राजेश दाईसँग मैले धेरै फिल्ममा काम गरेको छु र दाईले माया गर्नुहुन्छ । यसो चिया-कफिका लागि भेटेका थियौं । फिल्मको कुरा भएको छैन ।

शुक्रबार आजबाट विराज भट्ट अभिनीत भोजपुरी फिल्म ‘वध’ भारतको यूपी, बिहार, झारखण्ड, कलकत्ता र पञ्जाबमा प्रदर्शनमा आएको छ भने डिसेम्बर ९ बाट मुम्बई, महाराष्ट्र, गुजरात, दिल्ली, चण्डीगढलगायतका शहरमा प्रदर्शन हुँदैछ । पहिलो पटक २ सयभन्दा बढी मल्टीप्लेक्समा रिलिज हुने ‘वध’ पहिलो भोजपुरी फिल्म पनि बनेको छ । उनी यो फिल्मलाई लिएर उत्साहित छन् ।