गाउँपालिका संघको अध्यक्षमा कांग्रेसकी पाण्डे, महासचिवमा एमालेका थापा

मङि्सर २७, २०७९


मंसिर २७, गाउँपालिका राष्ट्रिय महासंघको नयाँ नेतृत्वका लागि राजनीतिक दलहरुले भागबन्डा टुंग्याएका छन् । काठमाडौंमा भइरहेको तेस्रो राष्ट्रिय महाधिवेशनबाट चयन हुने नेतृत्वका लागि दलीय प्रतिनिधिका आधारमा पदाधिकारी भागवण्डा गरिएको हो । स्थानीय तहमा सबैभन्दा धेरै पालिका जितेको नेपाली कांग्रेसले महासंघको अध्यक्ष र उपाध्यक्ष पाउने भएको छ ।

कांग्रेसले अध्यक्षमा नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेलाई पठाउने भएको छ । उपाध्यक्ष भने टुंगो लगाए नसकेको कांग्रेस निकट स्रोतले बताएको छ । त्यस्तै दोस्रो ठूलो दल नेकपा एमालले महासचिव, सचिव र ७ जना सदस्य पाउने भएको छ । एमालेले महासचिवमा स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापालाई पठाउने भएको छ । त्यस्तै सचिवमा सिन्धुलीको फिक्कल गाउँपालिकाकी उपाध्यक्ष पार्वती सुनुवारलाई पठाउने भएको छ ।

सदस्यहरुमा दीलकुमारी लावती – इलाम, सुमन मिरिंपचन – मोरङ, उग्रनारायण यादव – सिरहा, रामकुमार आचार्य – धादिङ, सरस्वती चिदी – पाल्पा, सहनशीला ओली – सल्यान र दुर्गादत्त ओझा – डोटी, रहने भएका छन् । कोषाध्यक्ष पाएका नेकपा माओवादी केन्द्रले भने नाम तय गर्न बाँकी रहेको छ गाउँपालिका महासंघ स्रोतले जनाएको छ । गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनबाट जनप्रतिनिधि निर्वाचित भएपछि पहिलो पटक महाअधिवेशन भएको हो ।